वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन गराएको छ ।
विद्यालयको स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा सञ्चालन गरिएको सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत शनिबार वीरगंजस्थित घण्टाघरको शिव मन्दिर परिसरमा निःशुल्क भोजन सेवा आयोजना गरिएको हो ।
संस्थाले प्रत्येक महिनाको एक शनिबार निःशुल्क भोजन सेवा सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत आयोजित कार्यक्रममा करिब २४० जनाले भोजन ग्रहण गरेका थिए ।
कार्यक्रममा गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, अल्भिन रेन्जर, सिपेन्द्र गुप्ता, सौराज प्रधानलगायत विद्यालयका शिक्षक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
विद्यालयको स्वर्ण जयन्तीलाई उत्सवमा मात्र सीमित नराखी समाजसेवा, सहयोग र मानवीय करुणाको भावना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।








