Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 384

पठनपाठ सुचारुकाे माग गर्दै विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पठनपाठन सुचारुकाे माग गर्दै विद्यार्थीहरु तालबन्दी गरेका हुन् ।

शिक्षक अभावका कारण कार्तिक १२ गतेदेखि विद्यालयमा माद्यमिक तहकाे पठनपाठन अवरुद्ध भएकाे थियाे । माद्यमिक तहका शिक्षक नहुँदा लामाे समय सम्म कक्षा ६ देखि १० सम्मका पठनपाठन अवरुद्ध भएपछि बाध्य भएर तालबन्दी गर्नु परेकाे विद्यार्थीहरुले जनाएका छन् ।

विद्यालयमा तालाबन्दी गर्नुकाे साथै विद्यार्थीहरु प्रदर्शन समेत गरेका छन् । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले प्रधानाध्यापक बिरेन्द्र यादवकाे सरुवा समेत माग गरेका छन् ।

शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे पठनपाठन हुन नसकेकाे विद्यालयका प्रधानाध्यापक बिरेन्द्र यादवले वताए । अवरुद्ध रहेकाे पठपाठन नै सुचारुकाे माग गर्दै विद्यार्थीहरु तालाबन्दी गरेकाे प्रधानाध्यापक यादवले वताए ।

विद्यार्थीहरुसंगै आएका केही राजनीतिक व्यक्तिहरु विद्यालयमा तालाबन्दी गराएकाे प्रधानाध्यापक यादवले वताए ।

अख्तियारमा परेकाे मुद्दाका कारण अभाव रहेकाे शिक्षक व्यवस्थापन गर्न समस्या भएकाे गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले वताए । विद्यालय कै समस्या समाधान गर्न आइतबार कार्यपालिकाकाे बैठक बाेलाएकाे वताउँदै केही दिन समस्या समाधान गर्ने दाबी गरे ।

मंगल माविमा पनि कक्षा ११ र १२ काे पठनपाठन बन्द

छिपहरमाई गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री मंगल मावि भिस्वाकाे कक्षा ११ र १२ को पठनपाठन बन्द भएको छ । शिक्षक अभाव कै कारण मंसिर ५ गतेदेखि कक्षा ११ र १२ काे पठनपाठन बन्द भएकाे हाे ।

६ महिनादेखि शिक्षकहरुले तलब नपाउँदा कक्षा लिन नमानेकाे विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीले वताए । गाउँपालिका तलब पठाए लगतै पुन: कक्षा सुरु हुने उनले वताए ।

छिपहरमाईमा निमित हाकिम बनाउने याेजना विफल, नयाँ प्रप्र अधिकृत ठाकुर

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल भएकाे छ । गाउँपालिकाकाे नयाँ प्रमुख प्रशासकिय अधिकृतमा कृष्ण ठाकुर हाजिर भएका छन् ।

छिपहरमाईकाे प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे सरुवा गराएर निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना बनाइएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साे याेजना विफल बनाइदिएकाे हाे ।

मन्त्रालयले कार्तिक १९ गते अधिकृत साहकाे धनुषाकाे बिदेह नगरपालिकामा सरुवा गर्दै उनकाे ठाउँमा मन्त्रालय कै अतिरिक्त सेवामा रहेका ठाकुरलाई पठाएकाे थियाे ।

अधिकृत साहले सरुवा भएकाे भाेली पल्टै कार्तिक २० गतै सरुवा भएकाे ठाउँमा रवाना भएका थिए । तर त्यसकाे केही दिन सम्म अधिकृत ठाकुर छिपहरमाई गाउँपालिकामा हाजिर नभएपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे थियाे ।

गाउँपालिका स्राेतका अनुसार जनप्रतिनिधि र गाउँपालिकामा हाबी रहेका कर्मचारीकाे सेटिङ विपरित प्रमुख प्रशासकिय अधिकृत मन्त्रालयले पठाएपछि हाजिर नगराउने याेजना बनेकाे थियाे । तर त्याे याेजना धेरै समय टिकन सकेन । अन्तत: नयाँ प्रमुख प्रशासकिय अधिकृत ठाकुर हाजिर भए ।

उनी कार्तिक २४ गते नै गाउँपालिकामा हाजिर भएपनि हाल सम्म खाता संचालन हुन नसकेकाे बुझिएकाे छ । कोलनिकाको हाकिम नहुदा खाता खोल्न केही ढिलो भएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले वताए ।

अध्यक्ष कप टूर्नामेन्टकाे फाइनलमा भिखमपुर र हरिहरपु भिड्दै

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा संचालित टि २० अध्यक्ष कप क्रिकेट टूर्नामेन्टकाे फाइनल खेल मंसिर ९ गते शनिबार हुने भएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे आयाेजनामा संचालित टूर्नामेन्टकाे फाइनल खेल धाेबिनी गाउँपालिकाकाे वडा नं. २ भिखमपुर र वडा नं. ३ हरिहरपुर बिच हुने आयाेजकले जनाएकाे छ ।

धाेबिनी गाउँपालिका ४ लंगडीलाई हराउँदै भिखमपुर फाइनलमा प्रबेश गरेका थिए भने गाउँपालिकाका कर्मचारीलाई हराउँदै हरिहरपुर फाइनलमा प्रबेश गरेका थिए ।

गुलरिया फिल्डमा जारी टूर्नामेन्टका विजेता टिमले रु २५ हजार र उप विजेता टिमले रु १५ हजार पाउने छन् ।

कार्तिक ३० गतेदेखि सुरु भएकाे टूर्नामेन्टमा गाउँपालिका अन्तर्गतका ५ वडा र कर्मचारी समुह गरि ६ टिम सहभागि छन् । टूर्नामेन्टमा सहभागि टिमलाई आयाेजकले ब्याट, बल, पाेशाक लगायतकाे सामग्री समेत वितरण गरेकाे छ । 

कार्यपालिका सदस्य पासवानलाई अभद्र व्यवहार गर्नेमाथि कारवाहीकाे माग

वीरगंज । नेपाल दलित मुक्ति संगठनले राैतहटकाे विन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि अभद्र व्यवहार र गाली बेइज्जति तथा जातीय छुवाछूत तथा भेदभाव भएकाे भन्दै दाेषी उपर कारवाहीकाे माग गरेकाे छ । 
 
संगठनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छठपर्वको अवसरमा रौतहट जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य समेत रहेका पासवानमाथि भएकाे अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएकाे छ ।
 
संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ती जारी गर्दै  श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव, अधिकृत शंकर ठाकुरलगायतका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेकाे जनाएकाे छ ।
 
विज्ञप्ती मार्फत विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको यस घट्नाको जति विरोध तथा निन्दा गर्दै संगठनले घट्नाको घोर भत्र्सना समेत गरेकाे छ ।
 
नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव, अधिकृत शंकर ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कारवाही गर्न संगठनले विज्ञप्ती मार्फत माग गरेकाे छ ।
 
साथै, मानव अधिकार विरोधी समाजमा सदभाव विथोल्ने गरी घटाइएकाे घट्नाका दोषीहरुलाई कारवाही गर्न गराउन हरतरहको सहयोग गर्न सम्पूर्ण राजनीति दलहरु, दलित संगठन, मानव अधिकारकर्मी, संचारकर्मी लगायतकाे संगठनले अपिल गरेकाे छ ।

कर दिवसमा सबैभन्दा बढी कर तिर्ने ३ जना सम्मानित

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगंज नै सरकारकाे उपेक्षामा परेको वताएका छन् ।

आन्तरिक राजश्व कार्यालय वीरगंजले आयाेजना गरेकाे १२ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले राजश्व संकलनमा वीरगंजले याेगदान गरे अनुसारकाे प्रतिफल नपाएकाे गुनासाे गरेका हुन् ।  

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले कर नतिर्नेलाई दायरामा ल्याउनु पर्ने वताए । उनले करकाे दायरा बढाउनुकाे साथै कर संकलनकाे लागि चेतना फैलाउन पनि जरुरी रहेकाे वताए ।

मेयर सिंहले सेवा प्रवाहको सवालमा आन्तरिक राजश्व कार्यालय वीरगंजकाे सेवा प्रवाह पहिला भन्दा सुधार भए वताउँदै अझै सुधार गरेर जानू पर्ने वताए ।

उनले घर बहाल कर स्थानीय तहले लिने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुदै स्थानीय तहको अधिकार क्षेत्र मिचेर घरबहाल कर आन्तरिक राजस्व कार्यालयले लिईरहेको गुनासो समेत गरे । घर बहाल कर स्थानीय तहले उठाउनु पर्ने संविधानमा भएको अधिकारको पालना गर्नु पर्ने मेयर सिंहकाे भनाई थियाे । 

उनले महानगरलाई बहाल कर मात्र उठाउन दिए आफू त्यसको अतिरिक्त कुनै कर नलिने दाबी समेत गरे । 

मेयर सिंहले वीरगंज ३१ का स्थानीय गरिब विपन्नहरूको नागरिकता दूरूपयोग गरेर करोडौ कर तिर्नुपर्ने अवस्था बनाएको र कर कार्यालयले पनि ताकेता गरेर आतंकित बनाएको भन्दै त्यसलाई सहजीकरण गर्न माग समेत गरे ।

आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत ढाकाराम तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, उद्याेग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशाेक टेमानी, नेपाल चाटर्ड एकाउण्टेण्ड एशोसिएसन पर्साका अध्यक्ष रमेश अग्रवाल लगायतले मन्तव्य राखेका थिए ।

आन्तरिक राजश्व कार्यालय वीरगंज कै प्राङ्गणमा भएकाे कार्यक्रमकाे संचालन कर अधिकृत निरज पाेखरेलले गरेका थिए भने स्वागत मन्तव्य कर अधिकृत संदिप पटेलले राखेका थिए । 

कर सप्ताहको समापन समारोह मै आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएकाे थियाे ।

बैंक तथा बित्तिय संस्थातर्फ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, व्यापार तर्फ कमला मोहन इण्टरनेशनल प्रालि र उद्योगतर्फ राजधानी क्राफ्ट नेपाल प्रालिलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ राजश्व कार्यालयका डाटा इन्टरी सुपरवाइजर रामानन्द यादवलाई सम्मान गरिएको थियो ।

स्वच्छ, पारदर्शी र प्रविधि मैत्री कर प्रशासन समाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराकाे साथ सप्ताह व्यापी कार्यक्रमकाे आयाेजना गरेर १२ ‍औं कर दिवस राजश्व कार्यालय वीरगंजले मनाएकाे हाे ।  

खैरो हिरोइनसहित भारतिय पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी विर्ताटोल निवासी २५ बर्षिय यादाेलाल कुमार रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट घण्टाघर र लागु औषध नियन्त्रण व्युरो वीरगंजबाट खटिएको संयुक्त चेकिङ टोलीले साेमबार  वीरगंज महानगरपालिकाकाे वडा नं.८ घण्टाघरस्थित सडकखण्डबाट यादाेलाललाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगंज भन्सार कार्यालय तर्फबाट शंकास्पद रुपमा साईकल चलाई पावर हाउसतर्फ जाँदै गरेको यदोलाललाई राेकी चेकजांच गर्दा उनले लगाएको पाईन्टको बाँया पट्टिको अगाडी खल्ती भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन १० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

विद्यालयमा विदा दिएर पार्टी प्रबेश कार्यक्रम

वीरगंज । पर्साकाे पाेखरियास्थित विद्यालयमा विदा दिएर पार्टी प्रबेश कार्यक्रम आयाेजना गरिएकाे पाइएकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरियामा रहेकाे श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पाेखरियामा मंगलबार विदा दिएर राजनीतिक दलकाे कार्यक्रम आयाेजना हुँदा विद्यार्थीहरु पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएका छन् ।

नेकपा एमाले पर्साले पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा आयाेजना गरेकाे बृहत सभा तथा पार्टी प्रबेश कार्यक्रमका कारण मंगलबार विद्यालयमा संचालन हुन सकेन ।

पूर्व निर्धारित पार्टी प्रबेश कार्यक्रमका कारण विद्यालयमा मंगलबार विदा दिइएकाे थियाे । विद्यालयहरुमा तिहार र छठ पर्वकाे विदा मंसिर ४ गते सम्म रहेपनि पार्टी प्रबेश कार्यक्रम कै कारण विद्यालयमा एक दिन थप विदा बढाएर मंसिर ५ गते सम्म विदा दिइएकाे थियाे । जस कारण मंगलबार विद्यालय संचालन हुन सकेन ।

मंगलबार विद्यालय संचालन हुनु पर्नेमा विद्यालय प्राङ्गणमा राजनीतिक दलकाे कार्यक्रम दिनभरी भयाे । जुन कार्यक्रममा नगरपालिकाका मेयर र उप मेयर आफै सहभागि थिए । साेही कार्यक्रममा त्यहीका पूर्व सांसद हरिनारायण राैनियार समेत पार्टी प्रबेश गरे ।

विद्यालयलाई शान्ति क्षेत्र र राजनीतिक दलकाे कार्यक्रम निषेधित क्षेत्र घाेणा गरिए पनि शिर्ष दल र शिर्ष नेता नै सहभागि भएकाे कार्यक्रम आयाेजना हुँदा विद्यार्थीहरु मर्कामा परेका हुन् ।

विद्यालयमा तिहार र छठकाे विदा नै रहेकाे पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहानले वताए । तिहार र छठकाे विदा मंसिर ४ गते सम्म नै रहेपनि पार्टी कै कार्यक्रमका कारण एक दिन थप मंसिर ५ गते विदा दिइएकाे प्रश्नमा त्यस्ताे नै भएकाे हुन सकने उनले वताए ।

विद्यालय बन्द गरेर राजनीतिक दलकाे कार्यक्रम गर्नु उचित भएन नि साेध्दा उनले तपाईहरुकाे काम नै यही हाे, भेटेर कुरा गर्नु हाेला भन्दै फाेन काटीदिए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय झाले नगरपालिका अन्तर्गतकाे सबै विद्यालयमा मंसिर ५ गते सम्म विदा दिइएकाे वताए । उनले छठ पर्वकाे भाेली पल्ट विद्यालयमा विद्यार्थीहरुकाे कम उपस्थिती हुने भएकाेले स्थानिय तहबाट थप एक दिन विदा दिइएकाे वताए ।

श्री जिल्ला उच्चांगल  माविका प्रधानाध्यापक ओमप्रकाश राैनियारसंग फाेनमा सम्पर्क गर्न खाेज्दा सुरुमा आफ्नाे छाेरालाई माेबाइल दिएर बुवा बाहिर जानु भएकाे भन्न लगाएर कुरा गर्न चाहेनन् । उनले केही समयपछि माेबाइल नै आफ गरिदिए । 

पाेखरियामा एमालेकाे बृहत सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे पाेखरियामा मंगलबार नेकपा एमालेकाे बृहत सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पाेखरियाकाे प्राङ्गणमा भएकाे कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण राैनियारसहित सयाैं जनाले एमाले प्रबेश गरेका हुन् ।

कार्यक्रममा पप्पु कन्स्ट्रक्सन पूर्व सञ्चालक समेत रहेका रौनियार जनता समाजवादी पार्टी नेपाल परित्याग गरि एमाले प्रवेश गरेका हुन् । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

राैनियारसहितकालाई कार्यक्रमका प्रमुख अतिथी एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फुल माला र अविरकाे टिका लगाएर पार्टीमा प्रबेश गरेका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले २०८४ को निर्वाचन पश्चात् एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरे । पार्टीले अहिले देश सङ्गठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने वताए ।

उनले भने, ‘आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी सङ्गठनलाई मजबुत बनाइरहेका छौँ । हामी मिसन २०८४ मा लागेका छौँ । २०८४ को चुनावमा देशभर एमालेको विजय पताका फहराउँछ । एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ ।’

ओलीले एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने बताए । देशलाई अहिलेको बेथिति र विसङ्गतिबाट बाहिर निकाल्न एमाले सरकारको विकल्प नै नभएको उनले बताए ।

एमाले आफ्नो नेतृत्वको सरकारमा छिमेकी मुलुकहरूसँग दबिएर होइन समान हैसियत बनाएर अगाडि बढ्ने नीति लिने उनले बताए । मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यस्ता समस्याबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनको भनाई थियो ।

दुर्गा प्रसाईँलाई नयाँ तत्त्वको शिखण्डीको संज्ञा दिँदै उनले भने, ‘अहिले देशमा केही नयाँ तत्त्वहरू उफ्रिइरहेका छन् । अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै त्यस्ता शिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन । कुनै मतलब पनि राख्दैन । किनकि एमाले सिसाको गिलास होइन जुन कतै ठोकियो भने पिटिक्कै फुटी हाल्ने । एमाले त्यस्तो इस्पात हो जुन घनले हान्दा पनि टसमस हुँदैन । त्यसैले अहिले उफ्रिइरहेका नयाँ शिखण्डीहरूको एमालेले मतलब नै राख्दैन ।’

ओलीले भगवान् रामको जन्मभूमि पर्साको ठोरी नै भएको पुन: दोहोर्‍याए । ओलीले समय – समयमा भगवान् रामको जन्मभूमि ठोरीमा रहेको दाबी गर्दै आइरहेका छन् ।

सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन । किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो । वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ ।’

एमाले पर्साका संयाेजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएकाे कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू राजकुमार गुप्ता, अरविन्द सिंह, पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहान लगायतलेपनि सम्बोधन गरेका थिए । 

धाेरे मेला तथा कुस्ती प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा आज बिशाल कुस्तीसहित भब्य मेला सम्पन्न भएको छ ।

प्रत्येक बर्ष झै यस बर्षपनि छठकाे पर्नाकाे दिन साेमबार शान्तिपूर्ण रुपमा मेला र कुस्ती प्रतियाेगिता सम्पन्न भएकाे गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले जानकारी दिए ।

मेलामा पर्सा, बारा, रौतहट तथा भारतका पुर्बी र पश्चिमी चम्पराणका हजारौ सहभागि भएका थिए । मेलामा साेमबार बिहानैदेखी कुस्ती प्रतियोगीता पनि भएको थियो ।

कुस्तीमा नेपाल तथा भारतका नामी पहलवानहरुकाे जबरदस्त प्रस्तुती रहेको थियो । नेपाल राज यादवले भारतका बाबा नायक पहलवानलाई पराजित गरेका थिए । 

मेलालाई ब्यवस्थापन गर्न मेला समितिले स्वयमसेवक तथा पालिका र ईलाका प्रहरी कार्यालय पोखरीयाले प्रहरी परिचालन गरेको थियो ।

धाेबिनीमा भएकाे क्रिकेट टुर्नामेन्टमा सबैठवा विजयी

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा संचालित वडा र पालिका स्तरिय क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा आज पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर ५ सबैठवा बिजयी भएकाे छ ।

धाेबिनी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको सहयोग र हिमाल स्टार क्रिकेट टिम जगरनाथपुरको आयोजनामा जगरनाथपुरको फिल्डमा संचालित टुर्नामेन्टको फाईनल खेलमा बहुदरमाई नगरपालिकाकाे वडा नं. २ लाई हराउँदै सबैठवा बिजयी भएकाे हाे ।

सुरुमा बहुदरमाईले २० ओभरको खेलमा सबै बिकेट गुमाई १ सय १० रन जोडेको थियो । त्यसपछि १११ रनकाे लक्ष्यसहित बैटीङ गरेकाे सबैठवाले १९ ओभर २ बलमा ८ बिकेटको क्षतीमा आफनो लक्ष्य प्राप्त गरी विजयी भएकाे थियाे ।

फाईनल खेलकाे मैन आफ दि मैच सबैठवाका मंजय महतोले ३६ रन र ३ बिकेट लि भएका थिए । बहुदरमाईका सोबराती अंसारीले १० बिकेट र ९६ रन बनाई मैनआफदि सिरीज भएका थिए ।

विभिन्न पालिकाका ६ टिम भाग लिएका टुर्नामेन्टकाे विजेता टिमले रु २५ हजार र उप विजेता टिमले रु १५ हजार पुरस्कार पाएका थिए । 

बिजेता तथा उपबिजेता टिमलाई पुर्ब गाविस अध्यक्ष राजेन्द्र यादव, पत्रकार छठु साह, शिक्षक महसंघका आरिफ अंसारी र धाेबिनी गाउँपालिका ५ का वडाध्यक्ष मनाउर मियाले पुरस्कार रासीकाे चेक, ट्रफी र प्रमाणपत्र बितरण गरेका थिए ।