Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 331

कुख्यात अपराधि बब्लु पासवान लागु औषध र हतियारसहित पक्राउ

वीरगंज । पर्सा प्रहरीले गाेली हानेर कुख्यात अपराधि बब्लु पासवालनाई पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं.१६ भुटनदेवी मन्दिर अगाडीबाट आइतबार राति ११ बजे गाेली हानेर भारत बिहार पूर्वी चम्पारण रक्सौल निवासी ४५ बर्षिय बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले भुटनदेवी मन्दिर नजिक बिआर ०५ एएल ६१३९ नम्बरकाे भारतीय मोटरसाइकलमा सवार बब्लुलाई लागु औषध तथा हतियारसहित पक्राउ गरिएकाे पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार संकास्पदरूपमा मोटरसाइकल चलाइ आइरहेकोमा रोकि चेकजाँच गर्न खोज्दा माेटरसाइकलमा सवार बब्लु भाग्न खोजेको अवस्थामा नियन्त्रण लिने क्रममा प्रहरीटोलीबाट सानो हतियार (पेस्तोल) बाट दुई राउण्ड गोली फायर गरिएकाे थियाे । त्यसपछि बब्लुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मेड इन युएसए नम्बर ११ पेस्तोल १ थान, साे पेस्ताेलमा लाग्ने गोली २ राउन्ड, लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ- ४९ ग्राम, लागु औषध गाँजा- ८८० ग्राम बरामद भएकाे हाे ।

प्रहरी कारवाहीको क्रममा निजको वाँया खुट्टाको घुँडामुनि गोली लागी घाइते भएकोमा तत्कालै उपचारको लागि वीरगंजस्थित नारायणी अस्पतालमा लगि उपचार पश्चात जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेका बब्लु २०७३।०२।१३ गते बाराकाे महागढीमाई नगरपालिकाकाे वडा नं.१ पसाहा पुल नजिक वीरगंजका सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार हुन् । यसका साथै २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा पनि उनी सलंग्न रहेका छन् ।

उनले छिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको र ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको पर्सा प्रहरीकाे भनाई छ ।

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

वीरगंज । वीरगंज महानगरपालिकाले एक्सेल कलेजको नाममा अबैध रुपमा संचालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।’

कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नं. ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिए ।

गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो ।

‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन’ उनी अगाडि भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं ।’

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ ।

आज सिलबन्दी गर्न नियमन समितिका संयोजक इश्वरचन्द्र यादब, नगर प्रमुखज्यूको जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायतको टोली पुगेको थियो ।

चिट चाेर्न नपाएपछि एनआईका विद्यार्थीहरुद्वारा हरिखेतानमा ताेडफाेड

वीरगंज । वीरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार विद्यार्थीहरूले तोडफोड गरेका छन् । कक्षा १२ को परीक्षामा सहभागी नेशनल ईन्फोटेक (एनआई) कलेजका विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

आइतबार भएको कक्षा १२ को परीक्षामा खटिएका पर्यवेक्षकहरूले परीक्षा मर्यादित बनाउने बहानामा आफूहरूलाई पटक पटक मानसिक यातना दिएको आरोप लगाउँदै विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

आक्राेशित विद्यार्थीहरुले गरेकाे ढुंगामुडाबाट क्याम्पस भवन, क्याम्पसको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको छ । विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बाेर्ड समन्वय कार्यालय हेटाैडाकाे बागमती प्रदेश ०३-००१ झ ००६३ नम्बरकाे गाडीमा समेत ताेडफाेड गरेका छन् । 

यसैगरी हरिखेतानका क्याम्पसका ना १ क १६९५ नम्बरकाे बस, ना २९ प ९१६२ नम्बरकाे स्कुटी, बा ५८ प २२०१, ना ४३ प ६०१, ना २५ प ७०६२ नम्बरकाे लगायतका माेटरसाइकलमा समेत ताेडफाेड गरेका छन् । परिक्षार्थी विद्यार्थीहरुले केही माेटरसाइकलहरु क्याम्पस भित्र रहेका नालामा समेत फालिदिएका हुन् ।

यसका साथै विद्यार्थीहरुले क्याम्पसकाे लेखा तथा प्रशासनमा रहेकाे कम्प्युट, टेबुल, कुर्सी, एसीमा समेत क्षति पुर्याएकाे क्याम्पसले जनाएकाे छ ।    

परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, कलम भुईँमा खस्दा पनि टिप्न नदिने लगायतका मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले परीक्षा सकिएपछि क्याम्पसमा तोडफोड गरेका हुन्।

 

तोडफोडमा उत्रिएका एक विद्यार्थीले भने,‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन । तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना कारण दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’ 

तोडफोड हुन थालेपछि तनावग्रस्त बनेको स्थिति  नियन्त्रणमा लिन गर्नका लागि क्याम्पस परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

क्याम्पसमा तोडफोडपछि विद्यार्थीहरूले जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर आइतबारको परीक्षा रद्द गर्न माग गरेका थिए । यता हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले भने विद्यार्थीहरूले लगाएको आरोप निराधार रहेको बताए ।

उनले परीक्षा हलमा चिट चोर्न नदिएपछि त्यसैको निहुँमा एनआई कलेजका विद्यार्थीहरू तोडफोडमा उत्रिएको बताए । क्याम्पसमा तोडफोडबाट भएको क्षतिपूर्ति एनआई कलेजले बेहोर्नुपर्ने उनले बताए । एनआइका संचालकहरुकाे उस्काहटमा परे विद्यार्थीहरु ताेडफाेमा उत्रेकाे उनकाे भनाई थियाे ।

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाकाे आधारमा शनिबार विहान २:३० बजेकाे समयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटेकाे प्रहरी टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. –१ टिन्डोबियास्थित बृजेश प्रसाद कुर्मीको घरबाट लागु औषध चरेश बरामद गरेकाे हाे ।

कुर्मीकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ कीलो लागू औंषध चरेश फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त लागू औंषध सहित निज कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर निज विरुद्ध लागु औषध मुद्दामा प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ । 

काङ्ग्रेस नै जनताको आशा र भरोसा भएको पार्टी हाे : एनपी साउद

वीरगंज । पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाली काङ्ग्रेस नै जनताको आशा र भरोसा भएको पार्टी भएकाे वताएका छन् । प्रेस युनियन पर्साले शनिबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले सबैभन्दा ठूलो पार्टी प्रति जनताले गरेको भरोसालाई टुट्न नदिने वताए ।

स्थानीय तहदेखि प्रदेश सरकारमा पनि काङ्ग्रेसले प्रभावकारी कार्य गरीरहेको उनको भनाई छ । नेपाली काङ्ग्रेसलाई पाखा लगाएर देशको राजनीतिमा निर्णायक र महत्वपूर्ण कार्यहरू गर्न नसकिने साउदले बताए । 

नेपाली काङ्ग्रेसले जहिले पनि देशमा स्वच्छता र पारदर्शीताको हिसाबले काम गर्दै आएको उनको भनाई छ । अहिले गृहमन्त्री बारे सहकारी  सम्बन्धि लागेको आरोप बारे सरकारी समितिबाट छानबिन नभएर संसदीय समिति बनाएर गराउनुपर्ने उनको माग छ । 

शनिबार इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनमा पनि नेपाली कांग्रेसका उमेदवारले जित्ने उनले दाबी गरे । नेपाली कांग्रेसको नेतृत्वमा देशमा लागू भएको संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेस जिम्मेवार भएर लागि परेको उनले बताए ।  

प्रेस युनियन पर्साका सभापति विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, मधेश प्रदेशका पुर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सभा सदस्य एवम् पार्टीका पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचीव एवम् वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरुको उपस्थिति रहेको थियोे । 

हनुमान जन्माेत्सवकाे अवसरमा वीरगंजमा वृहत शोभा यात्रा

वीरगंज । हनुमान जन्माेत्सवकाे अवसरमा शनिबार वीरगंजमा वृहत शोभा यात्रा सम्पन्न भएकाे छ । बिश्व हिन्दु परिषद संघकाे आयाेजनामा निस्केकाे साेभा यात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट सुरु भएको शोभा यात्रा माइस्थान, महाबिरस्थान, आदर्शनगर, अलखियामठ, विर्ता छपकैया हुँदै पुन: घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियो । बाजागाजा र झाकीसहित निस्केकाे शोभा यात्रामा उल्लेख्य संख्यामा हिन्दु धर्मावलम्बी एवम् भक्तजन तथा दर्शनार्थीहरुको सहभागिता रहेको थियो । 

गत बर्ष झै यस बर्ष पनि निस्केकाे शाेभा यात्राकाे क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान राखेर बाक्लाेमा संख्या नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिएका थिए । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमाेद ढुंगेल नेतृत्वमा दर्जनाैं प्रहरी अधिकृत तथा सयाैंकाे संख्यामा प्रहरीहरु खटिएका थिए ।

शाेभा यात्रामा हजाराैंकाे संख्यामा सहभागिता रहेकाे थियाे । शाेभा यात्राका सहभागिहरुलाई स्थानियहरुले विभिन्न ठाउँमा स्वागत गर्नुकाे साथै चिसाे पानी र सरबत खुवाएका थिए ।

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

वीरगंज । बारा प्रहरी बिहिबार दिउसाे नियम विपरित संचालित २४७ सवारी साधनलाई कारवाही गरी रू.२ लाख १९ हजार ४ सय राजश्‍व संकलन गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका ३० स्थानमा अपराध नियन्त्रण, रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको भिगाेरस चेकिङ गरी ट्राफिक नियम विपरित संचालित सवारीसाधनलाई कारवाही गरेकाे हाे ।

ट्राफिक नियम विपरित चलाईएका १३८ सवारी साधनहरूलाई कारवाही गरी रू. एक लाख १२ हजार राजस्व संकलन गरीएको र नियमित चेकजाँचको क्रममा १०९ सवारी साधनहरूलाई कारवाही गरी रू एक लाख ७ हजार ४ सय राजस्व संकल गरीएकाे जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानले वताए ।

यसका साथै चेकिङकाे क्रममा पक्राउ परेकाे २ वटा भारतीय नम्बर पलेट भएको मोटरसाईकल वीरगंज भन्सार कार्यालय, पर्सा पठाईएको, ७ वटा सवारी दर्ता किताब आवश्यक कारवाहीको लागी यातायात व्यवस्था कार्यालयमा पठाईएको र २० वटा माेटरसाइकल, एक ट्याक्टर, एक पिकअप प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

साथै सोही चेक जाँचको क्रममा लागु औषध गाँजासहित एक जना पक्राउ समेत परेका छन् ।

अस्थाई प्रहरी पोष्‍ट ईनर्वासिरहा बाराबाट खटिएको प्रहरी टोलिले बिहिबार दिउसाे नै ४:४५ बजेको समयमा जीतपुरसिमरा उप-महानगरपालिकाकाे वडा नं.१९ निवासी ३३ बर्षिय प्रयाग महतो नुनियालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २४ स्थित हरपुरबाट ईनर्वासिरा तर्फ चलाई गई रहेको साईकल चालक नुनियालाई नियमित रूपमा चेक जाँच गर्दा साईकल पछाडि झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ५ किलो वरामद भएकाे बारा प्रहरीका प्रवक्ता न्याैपानेले वताए ।

त्यसपछि लागु औषधसहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

मालवाहक ट्याक्टर र पिकअप पक्राउ

वीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२५ अलौ स्थित सडकखण्डबाट बिआर ०५ जिए ९०४२ नम्बरको मालवाहक पिकअप र बिआर २२० ७७२७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएकाे हाे ।

विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर आइसिपीबाट वीरगंजतर्फ जाँदै गरेको सूचनाको आधारमा बुधबार सांझ ५:३० बजेकाे समयमा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

पिकअप र ट्याक्टरकाे साथमा रहेको प्रज्ञापन पत्र, अनलाइन भिसिटिएस विल भन्दा बढी लोड रहेको आसंका आधार अनुसन्धानकाे लागि नियन्त्रणमा लिइएकाे प्रवक्ता थापाले जानकारी दिए ।

पक्राउ परेका पिकअप र ट्याक्टरमा लाेड रहेकाे अन्दाजी रू. ४० लाख ३६ हजार दुई सय एक मुल्य बराबरको विभिन्न किसिमका कपडाहरू आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उनले वताए ।

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ मौजे सिर्सिया सडक खण्डमा बिहिबार विहान दुई वटा माेटरसाइकल एकआपसमा ठाेकिदा एक जनाकाे ज्यान गएकाे छ भने ३ जना घाइते भएका छन् ।

सिर्सियाबाट ड्राईपोर्ट तर्फ आउँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र ड्राईपोर्टबाट सिर्सिय तर्फ जाँदै गरेको ना ३१ प ३८३५ नम्बरकाे मोटरसाइकल एक आपसमा ठक्कर खाँदा वीरगंज महानगरपालिकाकाे वडा नं. २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेलको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

माेटरसाइकलमा सवार साेही ठाउँ निवासी २० बर्षिय आकाश पटेल, अर्काे माेटरसाइकल चालक १५ बर्षिय कनैया चर्तुवेदी र साे माेटरसाइकल सवार साेही ठाउँ निवासी १५ बर्षिय सामा पटेल घाइते भएकाे प्रवक्ता थापाले वताए । घाइते आकाशकाे टाउकोमा चोट लागेकाे छ, चतुर्वेदीकाे छातिमा चोट लागेकाे छ भने सामाकाे खुट्टा र टाउकोमा चोट लागेकाे छ ।

घाइते तीनै जनाकाे वीरगंजस्थित नेशनल मेडिकल मलेज तथा शिक्षण अस्पतालमा भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

९ लाख ९० हजार बराबरका लत्ताकपडा तथा औषधी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ९ लाख ९० हजार एक सय ८० बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू तथा औषधीहरू बरामद गरेकाे छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट बरामद गरेकाे विभिन्न किसिमका लत्ताकपडा तथा औषधी आवश्यक कारवाहीको लागि बुधबार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएकाे प्रहरी टाेलीले आइतबार दिउसाे ४:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. ११ कृषी अनुसन्धान केन्द्र स्थित सडकखण्डबाट Lycopene, Grape Seed Extract, Multivitamin, Multimineral And Antioxidant Capsules (lyco plus) Capsules लाईको प्लस नामक औषधी ६६ डिबा (१ डिबामा १० पता) पक्राउ गरेकाे थियाे । रु दुई लाख बाह्र हजार बारबरको साे औषधीहरू पक्राउ गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको हाे ।

त्यसैगरी वडा प्रहरी कार्यालय विर्ताबाट खटिएकाे प्रहरी टाेलीले आइतबार नै वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट कुर्ता सुरवाल-२९० पिस, टपस-१९६ पिस, टि-सर्ट-११० पिस, चिनी-२८० के.जी., मोबाईलका डिस्पले-६० पिस, पाईप-२ बण्डल, पाईन्ट थान-१०० मिटर, सर्ट-२१० मिटर पक्राउ गरेकाे थियाे । रु ६ लाख ६८ हजार एक सय असी बराबरका साे मालबस्तुहरू पनि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

त्यसैगरी प्रहरी चौकी सिर्सियाले वीरगंज महानगरपालिकाकाे वडा नं.१७ अलौ स्थित सडकखण्डबाट पाइन्ट-४ थान, सर्ट-४ थान, प्याज-१ बोरा, कुर्ता सुरवाल-१४ पिस नियन्त्रणमा लिएकाे थियाे । एक लाख दश हजार बराबरका मालबस्तुहरू पनि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।