Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सम्पादकीय: सीमा सुरक्षा र सूचना स्पष्टताको संवेदनशीलता

spot_img
spot_img

अहिले भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको अवस्था छ । सीमामा सेनाको परिचालन, युद्धको आशंका, र सुरक्षात्मक रणनीति तीव्र बनिरहेको बेला यसले नेपालको खुला सीमामा पनि प्रत्यक्ष असर पार्नु स्वाभाविक हो । नेपाल–भारतबीच करिब १,७५० किलोमिटर लामो खुला सिमा छ, जसले दुई देशबीचको सम्बन्धलाई सहज बनाएको भएपनि आपराधिक गतिविधि र अवैध घुसपैठका लागि पनि खुला ढोका बनाउने खतरा बोकेको छ ।

यही सन्दर्भमा वीरगंज जस्तो प्रमुख नाकामा चेकजाँच कडा बनाइएको समाचारले अहिले चर्चा पाएको छ । शुक्रबार वीरगंजमा व्यापक चर्चा चल्यो कि भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई अब राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । समाचार माध्यमहरूले समेत यसबारे खबर प्रकाशन गरे, जसले सर्वसाधारणमा अन्योल र अनावश्यक डर सिर्जना ग¥यो ।

तर पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दिएको जानकारी अनुसार, राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको होइन । चेकजाँचमा कडाइ गरिएको हो, तर शंकास्पद वा विशेष आवश्यकताको अवस्थामा मात्र नागरिकसँग परिचय पत्र माग गरिनेछ । भारत–नेपाल दुबै देशका सुरक्षा अधिकारीहरूको सहमतिमा सीमामा सुरक्षा निगरानी बढाइएको हो, ताकि द्वन्द्वग्रस्त समयको फाइदा उठाएर कोही गलत नियतका व्यक्ति सीमाबाट नेपाल प्रवेश नगरोस् ।

यस घटनाले दुई मुख्य कुराहरूको महत्वलाई पुनः उजागर गरेको छ । पहिलो, सुरक्षा सतर्कता । नेपालको भौगोलिक संरचना र खुला सीमाको व्यवस्था शान्तिकालमा फाइदाजनक भए पनि संकटका बेलामा जोखिमपूर्ण हुन सक्छ । त्यसैले सीमामा नियमित निगरानी, चेकजाँच, र सहकार्य अपरिहार्य छ । खासगरी युद्धको आशंका रहेको अवस्थामा, अवैध हतियार, घुसपैठिया वा आपराधिक तत्त्वहरू देशभित्र पस्ने जोखिम उच्च हुन्छ ।

दोस्रो, सूचना प्रवाहमा पारदर्शिता र जिम्मेवारी । नागरिकलाई सही जानकारी दिन नसक्दा समाजमा भ्रम फैलिन सक्छ । अनावश्यक त्रासले नागरिक जीवन अस्तव्यस्त बनाउँछ । यस्तो संवेदनशील बेलामा प्रशासनले यथाशीघ्र सत्य र प्रमाणित सूचना सार्वजनिक गर्नुपर्छ । त्यस्तै, सञ्चार माध्यमले पनि सनसनीभन्दा पुष्टि र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ । समाचारको स्रोतको प्रामाणिकता नजाँचिकन गलत सूचना प्रसारण गर्नु गैर–जिम्मेवार पत्रकारिताको उदाहरण हो ।

अन्ततः, सीमा सुरक्षामा कडाइ गर्नु राष्ट्रिय हितको कुरा हो । तर त्यससँगै नागरिकको सूचना अधिकार, स्वतन्त्रता र मानसिक शान्तिलाई पनि ख्याल गर्नुपर्छ । नागरिक र सरकारबीचको विश्वास सूचना पारदर्शिताबाट मात्र बन्न सक्छ । सुरक्षाको नाममा नागरिक अधिकार नखुम्च्याई, पारदर्शी र सन्तुलित उपायबाट मात्रै दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...