Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026
Home Blog Page 29

भेडिहारीमा निःशुल्क आँखा शिविर सम्पन्न, ३५ जनामा मोतियाबिन्द फेला

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारी टोलमा शुक्रबार आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १६० जनाले सेवा लिएका छन् । शिविरमा परीक्षण गराएकामध्ये ३५ जनामा मोतियाबिन्द भेटिएको छ ।

नेपाल पासवान संघ, पर्सा र राष्ट्रिय दलित पत्रकार संघ, पर्साको संयुक्त आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको सहयोगमा स्थानीय समाजसेवी शम्भु पासवानको दैलोमा शिविर सञ्चालन गरिएको हो । शिविरमा दलित, मुस्लिम तथा अन्य समुदायका स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण गराएका थिए ।

शिविरमा खटिएका डा. प्रभात चौरसियाका अनुसार परीक्षणका क्रममा ३५ जनामा मोतियाबिन्दको समस्या पहिचान भएको छ । ती बिरामीहरूको शनिबार वीरगंज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुगेको आयोजकले जनाएको छ ।

शिविरमा राष्ट्रिय दलित पत्रकार संघ, पर्साका सल्लाहकार बृजलाल पासवान, नेपाल पासवान संघका नेता जयकुमार पासवान लगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२५ करोडसम्मका उद्योग प्रशासनका सबै सेवा अब वीरगंजबाटै, १८८ उद्योगका फाइल हस्तान्तरण

0

वीरगंज । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उद्योग विभाग, त्रिपुरेश्वरबाट हस्तान्तरण भई आएका स्थिर पुँजी २५ करोड रुपैयाँसम्मका उद्योग प्रशासनसम्बन्धी फाइलहरू उद्योग विभाग, वीरगञ्जमा पठाएको छ। यससँगै अब २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको दर्ता, नवीकरण, संशोधन, नामसारी, स्वीकृतिलगायत सम्पूर्ण प्रशासनिक सेवा वीरगञ्जबाटै उपलब्ध हुने भएको छ।

उद्योग विभाग, वीरगञ्जकी निमित्त महानिर्देशक रिमा साहलाई मन्त्रालयले एकमुष्ट १८८ वटा उद्योगका फाइल हस्तान्तरण गरेको हो। फाइल हस्तान्तरणपछि उद्योगसम्बन्धी सेवा विकेन्द्रीकरण भई सेवाग्राहीले अब काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले निमित्त महानिर्देशक साहलाई ती फाइलहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरे, मन्त्रालयका कर्मचारी नविन सिंह लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

निमित्त महानिर्देशक रिमा साहका अनुसार उद्योग विभाग, वीरगञ्जमा फाइल हस्तान्तरण भएसँगै २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको प्रशासनिक कार्य अब प्रदेश स्तरमै प्रभावकारी रूपमा सञ्चालन हुनेछ । यसबाट उद्योगी–व्यवसायीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

रास्वपाको केन्द्रीय सदस्यमा पर्साकी सांसद सुनिता चौधरी निर्वाचित, डा. नन्दन यादव पराजित

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पर्साकी समानुपातिक प्रतिनिधिसभा सदस्य सुनिता कुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

पर्साको पकहाँ मैनपुर गाउँपालिका–१, धोरे निवासी चौधरी प्रादेशिक कोटाअन्तर्गत मधेश प्रदेशबाट १ हजार ३०७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

यस्तै, पर्साका निवर्तमान केन्द्रीय सदस्य डा. नन्दन यादव भने पराजित भएका छन् । उनले मधेशी खुला समूहबाट उम्मेदवारी दिएका थिए । उक्त समूहमा उनले ७६८ मत मात्र प्राप्त गरेपछि केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुन सकेनन् ।

यसैबीच, बाराबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्य पनि रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेशी समूहतर्फ ८७० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहतर्फ १ हजार ४५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मधेशी समूहतर्फ बब्लु गुप्ता, दीपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

0

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ ।

कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति १०ः३० बजे निधन भएको हो । उनको निधनले सम्पूर्ण कालिकामाई गाउँपालिका परिवारलाई स्तब्ध बनाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जारी गरेको सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै परिवारलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ ।

कार्यपालिका सदस्य दुसादिनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले असार ११ गते बिहीबारका दिन शोक बिदा दिएकाे थियाे । सूचनाअनुसार कालिकामाई गाउँपालिका मातहतका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहेकाे थियाे ।

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

0

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ ।

आजपा प्रवक्ता तिलक थापामगरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णयप्रति गम्भिर आपती जनाएका छन् ।

विविधता र असमानताले भरिएको नेपाली समाजमा संघीयता लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको इतिहासलाई रास्वपाले नजरअन्दाज नगरोस भन्ने विशेष आग्रह आजपाले गरेको छ ।

‘संघीयता कार्यान्वयनको सवालमा यसका संरचनालाई बलियो बनाउनुको साटो स्वेच्छाचारी ढंगले प्रदेशसभाको खारेज गर्ने प्रतिवेदन पारित गर्नु स्वयम रास्वपाको लागि पनि प्रत्यूत्पादक साबित हुनेछ । तत्काल रास्वपाले यो निर्णय फिर्ता लिई पूनरावलोकन गरोस भनी हाम्रो पार्टी विशेष आग्रह गर्दछ,’ आजपा प्रवक्ता थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२१ फागुन २०८२ को निर्वाचनमा रास्वपाले गरेको राजनीतिक वाचाविपरित संघीयता नै खारेज गर्नेगरि पछि फर्कनु सर्वथा जनमतको अपमान भएको आजपाको ठहर छ ।

‘विगतमा पूराना दलले जे विकृत अभ्यास गर्दै आएका थिए, अहिले नयाँ र विकल्प दिन्छौं भन्ने रास्वपाले पनि जनमत लिने बेलामा एकथरि र जनमत लिनेबित्तिकै ठीक त्यसको विपरित निर्णय गर्नु जनादेशको अपमान र लोकतन्त्रको उपहास हो ।

एकातिर चुनावमा संघीयता बलियो बनाउँछु भनेर सार्वजनिक प्रतिबद्धता गरेर जनमत बटुलेर सरकार बनाउने अनि एकसय दिनपनि नबित्दै जनमतलाई लत्याएर संघीयता पुनर्संरचनाको नाममा प्रदेशसभा खारेज गर्ने कुरा आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

चुनावको क्रममा जातीय–क्षेत्रिय सेन्टिमेन्टको राजनीतिमार्फत भोट बटुलेको रास्वपाले अहिले एकाएक प्रदेशसभा खारेज गर्ने गैरजिम्मेवार प्रस्ताव पारित गरेर राष्ट्रिय राजनीतिमा नयाँ द्वन्द्व सिर्जना गरेको आजपाले जनाएको छ ।

रास्वपाका पछिल्ला निर्णय र कदम नियाँल्दा देशलाई निकास दिनेभन्दापनि असहज बनाउने षड्यन्त्रमा लागेको आजपाले जनाएको छ । ‘राईट–टु–रिकलको मान्यता बोकेको र नयाँ गर्छु भनेर विश्वास दिलाएको एक जिम्मेवार दलले यसरी खुलेआम जनादेशको विरुद्ध जाँदा सार्वजनिक पदमा बस्न मिल्छ कि मिल्दैन ? अहिले गम्भीर नैतिक प्रश्न खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

0

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव आदानप्रदान कार्यशाला” बिहीबारदेखि वीरगंजमा सुरु भएको छ ।

वीरगंजस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित दुईदिने कार्यशालाको उद्देश्य हैजाजस्ता सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइ आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।

“पूर्वतयारी सुदृढ बनाऔँ, प्रमाणमा आधारित अनुभव साझा गरौँ र जीवन बचाऔँ” भन्ने मूल नारासहित सञ्चालन भइरहेको कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रतिनिधि डेभिड सिर्स सहभागी थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधिहरू बालकृष्ण सेढाईं, टिकाराज पौडेल र रश्मि झालगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेको उल्लेख गर्दै समयमै पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता विकास अपरिहार्य रहेको बताएका थिए ।

उनीहरूले महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, रेडक्रस र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै विगतमा हैजा नियन्त्रणका क्रममा प्राप्त अनुभव, चुनौती र सफल अभ्यासहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रणनीति निर्माण गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपतकालीन स्वास्थ्य तयारी, समुदायस्तरको सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहुपक्षीय समन्वय तथा महामारी प्रतिकार्य सम्बन्धी विषयमा प्रस्तुति, छलफल र अनुभव आदानप्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले भविष्यमा सम्भावित हैजा प्रकोपको प्रभावकारी व्यवस्थापन, जनस्वास्थ्य सुरक्षा तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वीरगंजमा रोजगार मेला सम्पन्न, २० जना रोजगारीका लागि छनोट

0

वीरगंज । प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) हासिल गरेका युवाहरूलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले वीरगंज उद्योग वाणिज्य संघ (BiCCI) को आयोजनामा तथा QualiTY परियोजनाको प्राविधिक सहयोगमा वीरगंजमा एकदिने रोजगार मेला सम्पन्न भएको छ ।

आयोजकका अनुसार रोजगार मेलाले उद्योग क्षेत्र र प्राविधिक शिक्षालयबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै दक्ष जनशक्तिको माग र आपूर्तिबीचको दूरी कम गर्ने महत्वपूर्ण प्रयास गरेको छ । कार्यक्रममा विभिन्न प्राविधिक शिक्षालयमा अध्ययनरत तथा हालै स्नातक गरेका १५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मेलामा सहभागी विद्यार्थीहरूलाई रोजगार अभिमुखीकरण, प्रभावकारी बायोडाटा (CV) तयार गर्ने तरिका, रोजगार आवेदन प्रक्रिया, अन्तर्वार्ताको तयारी तथा कार्यस्थलमा अपेक्षित व्यवहार सम्बन्धी जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले यस्ता गतिविधिले श्रम बजारमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको बताएका छन् ।

रोजगार मेलामा औद्योगिक तथा उत्पादन क्षेत्रका विभिन्न प्रतिष्ठित कम्पनीहरूको सक्रिय सहभागिता रहेको थियो । जगदम्बा इन्टरप्राइजेज प्रालि, सर्वोत्तम स्टिल, केएल दुगार प्रालि, KNP Nerolac, हिमालयन डिस्टिलरी, लाइफ स्टार फार्मास्युटिकल्स, पतञ्जलि आयुर्वेद, हुलास स्टिल इन्डस्ट्रिज तथा एपेक्स फार्मास्युटिकल्स प्रालिका प्रतिनिधिहरूले दक्ष जनशक्ति छनोटका लागि अन्तर्वार्ता सञ्चालन गरेका थिए ।

विशेषगरी मेकानिकल, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स तथा सिभिल इन्जिनियरिङ विषयका १०० भन्दा बढी विद्यार्थीहरूको अन्तर्वार्ता लिइएको थियो । उद्योगहरूको आवश्यकता र विद्यार्थीहरूको दक्षताको आधारमा गरिएको प्रारम्भिक छनोट प्रक्रियामार्फत कम्तीमा १५ देखि २० जना विद्यार्थीहरू रोजगारीका लागि छनोट भएको जनाइएको छ । छनोट भएका विद्यार्थीहरूको नियुक्ति प्रक्रिया सम्बन्धित उद्योगहरूमा उपलब्ध पदअनुसार अगाडि बढाइने बताइएको छ ।

कार्यक्रममा सहभागी उद्योगी तथा शिक्षण संस्थाका प्रतिनिधिहरूले यस्ता रोजगार मेलाले शिक्षाबाट रोजगारीतर्फको यात्रालाई सहज बनाउनुका साथै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षालय र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

आयोजकका अनुसार रोजगार मेला केवल रोजगारी उपलब्ध गराउने माध्यम मात्र नभई विद्यार्थीहरूलाई उद्योग क्षेत्रसँग प्रत्यक्ष परिचित गराउने, श्रम बजारको वास्तविक मागबारे जानकारी दिने तथा भविष्यको करियर निर्माणका लागि मार्गदर्शन प्रदान गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ ।

यस्ता कार्यक्रमहरूले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, युवाहरूको रोजगारी क्षमता बढाउन तथा उद्योग क्षेत्रको दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको परियाेजनाका मृत्रदेव यादवले जानकारी दिए ।

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

0

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी साह, आर्या पाण्डे, विरवल कुशवाहा, महासचिवमा रामशरण यादव, उपमहासचिवमा प्रदिप विक्रम शाह, जयलाल मेहता, पुजा कुशवाहा, विनोद साह रहेको आजपा प्रवक्ता तिलक थापामगरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची, परमेश यादव, सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता, ममता साह छन् ।

यसैगरी सदस्यहरुमा साहिल साह, प्रजिता आले मगर, रोजीना तामाङ, रुपेश तामाङ, महेश यादव, रिंकी कुमारी गुप्ता, सरोज ऋषिदेव, देवेन्द्र कुशवाहा, राजिव रजक, प्रिन्स साह, मुकेश रंगिला, संजय चौरसिया, नविन कुशवाहा, दिपेन्द्र जयसवाल, नविन चौधरी, मुकेश यादव, प्रदिप पटेल, उमेश पाण्डे, राधेश्याम साह, अमरलाल साह, राजेश वैठा, सरोज साह, नविन साह, उपेन्द्र जयसवाल, कृष्ण कुशवाहा लगायतका रहेका छन् ।

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

0

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा निकालिने दाहा उत्सव–यात्रामा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार तथा भाँठाको प्रदर्शन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । बैठकले मोहरम पर्वका दिन वीरगंज तथा जिल्लाका अन्य स्थानहरूमा निकालिने दाहा यात्रामा हातहतियार प्रदर्शन गर्न नपाइने तथा डिजे वा अन्य बाजा प्रयोग गरी उच्च ध्वनि प्रदूषण गर्न पनि रोक लगाएको जनाएको छ ।

बैठकमा दाहा उत्सव–यात्रा स्थानीय प्रशासनले तोकेको रुटमै सञ्चालन गर्नुपर्ने, कुनै पनि धार्मिक समुदायले अर्को समुदायको भावना, आस्था तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गतिविधि गर्न नपाइने निर्णय गरिएको छ । साथै यात्राको नेतृत्व सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिले गर्ने र धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पुग्ने गरी अन्य देशका झण्डा, लोगो वा छाप अंकित सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत धार्मिक समुदायबीच वैमनस्यता, भ्रम वा उत्तेजना फैलाउने खालका पोस्ट, तस्बिर तथा भिडियोहरू साझेदारी नगर्न पनि बैठकले सबै पक्षलाई अनुरोध गरेको छ । दाहा निकाल्ने क्रममा कुनै विवाद वा उच्छृङ्खल गतिविधि भएमा दुवै समुदायका अगुवाहरूले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ ।

मोहरम पर्वको अवधिभर मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाह सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वयमा रही कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रशासनले सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्दै पर्व मनाउन आग्रह गरेको छ ।

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

0

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार नगरसभागृहमा आयोजित नगरसभाको २०औँ अधिवेशनमा उक्त बजेट प्रस्तुत गरिएको हो ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि प्रस्तुत बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँ बढी रहेको छ ।

बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ (५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ (४४.६ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगरले बजेट कार्यान्वयनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेट प्रस्तुत गर्दै कानुले शिक्षा र स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन र उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

यसअघि अधिवेशनमा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आलमको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्यहरू, वडाध्यक्ष तथा सदस्यहरू, महानगरका कर्मचारी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।