वीरगंज । विश्व तेली दिवसको अवसरमा तेली कल्याण समाज पर्साले रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।
समाजले १ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानुलाई हस्तान्तरण गरेको हो।
सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष ध्रुव साहले सहयोग रकमको चेक सांसद कानुलाई हस्तान्तरण गरे। चेक बुझ्दै सांसद कानुले विपद्को समयमा पीडित परिवारको सहयोगका लागि समाजले गरेको पहलप्रति धन्यवाद व्यक्त गरे।
चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह र कोषाध्यक्ष नितेश गुप्तालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा पर्सागढी नगरपालिकाका नगरप्रमुख नन्दुप्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह तथा बाराका कपिलदेव साह तेलीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधीर पटेल, राजकुमार साह, राम आर्य र फैयाज अन्सारीको समेत सहभागिता रहेको थियो।
समाजले विपद्का कारण प्रभावित भएका परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको जनाएको छ।








