Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 28

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

0

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

0

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

भेटका क्रममा साहले सरकारी विद्यालय तथा कलेजमा प्रयोगात्मक शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रयोग गरेर सिक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

आफूले विज्ञान विषयमा स्नातकोत्तर तहमा विश्लेषणात्मक रसायनशास्त्र अध्ययन गरेको अनुभव सुनाउँदै साहले प्रयोगात्मक ज्ञान प्रत्येक विद्यार्थीका लागि आवश्यक मात्र नभई उनीहरूको अधिकारको विषयसमेत भएको बताए । उनले देशका विभिन्न स्थानमा आधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र तथा नयाँ अनुसन्धानका संरचना स्थापना गर्न मन्त्री पुनसमक्ष प्रस्ताव गरेका थिए ।

साहका अनुसार उनको प्रस्तावप्रति मन्त्री पुनले सकारात्मक प्रतिक्रिया दिएका छन् । स्थानीय सरकारले प्रयोगशाला निर्माण तथा सञ्चालनका लागि रुचि देखाएर आवश्यक बजेट विनियोजन गरे संघीय सरकारले समेत आवश्यक सहयोग र बजेट उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनले व्यक्त गरेका छन् ।

त्यसैगरी, आगामी दिनमा विभिन्न स्थानमा नयाँ अनुसन्धान प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापना र विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने विश्वाससमेत मन्त्री पुनले दिलाएको साहले बताए ।

जेन जि पर्साका संयोजक साहले पर्सा जिल्लाका स्थानीय तहमा प्रयोगात्मक प्रयोगशाला निर्माण तथा सञ्चालनका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा आगामी दिनमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

साहले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी ‘किताबसँगै प्रयोगशाला, प्रयोगसँगै अनुसन्धान’ को वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल प्रसाद चौरसियाले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियो पोखरियाका अध्यक्ष एवं कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साह, राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता जोगिन्द्र चौरसिया, जनता समाजवादी पार्टीका स्थानीय नेता माओ कुशवाहालगायतको उपस्थिति रहेको थियो ।

बाल दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ की गुडिया खातुन प्रथम भएकी छन् । यस्तै, कक्षा ६ का सुरज राम द्वितीय र कक्षा ७ का सोनु साह कानु तृतीय भएका छन् ।

प्रतियोगिताका विजेता तीनै जना विद्यार्थीलाई विद्यालयले पुरस्कार प्रदान गरेको जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

0

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।

नेकपा पर्साका जिल्ला पदाधिकारीहरूको बैठकले कार्यक्रम व्यवस्थापनका लागि २१७ सदस्यीय मूल व्यवस्थापन समिति सहित विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकले जयप्रकाश थारुको संयोजकत्वमा केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरू रहने गरी २१७ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै, थारुकै संयोजकत्वमा फिरोज बादसाह, सब्बा अन्सारी, रुपनारायण सिंह, जयशंकर यादव, अमिरीलाल कलवार, टुनटुन तिवारी, गजाधर पटेल र अनिल पटेल सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ ।

जिल्ला सह–संयोजक गंगा बहादुर खड्काको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सह–संयोजक फिरोज बादसाहको संयोजक तथा देवेन्द्र पटेल सह–संयोजक रहेको स्वयंसेवक उपसमिति, विजय प्रसाद महतो संयोजक तथा हिरा भट्टराई सह–संयोजक रहेको अतिथि सत्कार उपसमिति पनि गठन गरिएको छ ।

त्यसैगरी, किशोरी प्रसाद कुश्वाहाको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । उपसमितिमा प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपालका मधेश प्रदेश अध्यक्ष मनोज पटेल, प्रेस सेन्टरका पर्सा अध्यक्ष शिवनाथ यादव र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन सदस्य रहेका छन् ।

कार्यक्रम असोज ११ गते वीरगंजकाे नगरसभा गृहमा आयोजना हुने नेकपा पर्साका संयोजक जयप्रकाश थारुले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थिति रहने नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरीले बताए । उनका अनुसार कार्यक्रममा जिल्ला समायोजनसँगै सपथ ग्रहण तथा प्रशिक्षणसमेत आयोजना गरिनेछ ।

सोमबार नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकमा नेकपा मधेश प्रदेश सह–संयोजक क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, पर्सा सह–इन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुश्वाहा, जिल्ला सह–संयोजकहरू गंगा बहादुर खड्का, फिरोज बादसाह लगायतको उपस्थिति रहेको थियो ।

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

0

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

नाप नक्सा सम्पन्न भएपनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले बताउनुभयो ।

उहाँका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् ।

“पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भन्नुभयो, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्न सक्छ ।”

धनुषामा सञ्चालन भइरहेको जग्गाधनी पुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेशकुमारले बताउनुभयो ।

नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

0

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सरकारी सेवा लिन आउने नागरिकलाई विचौलियाको प्रभावबाट मुक्त गर्दै छिटोछरितो र पारदर्शी रूपमा सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको हो।

मन्त्रालयले सरकारी कार्यालय आसपास सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम उठाउने व्यक्तिहरूमाथि निगरानी बढाउन भनेको छ। त्यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

त्यस्तै, सेवा प्रवाहका क्रममा अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती महिला, साना बालबालिका साथमा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिन भनिएको छ।

नागरिक सहायता कक्षमार्फत जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने विभिन्न निवेदन तथा फारम निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था परिपत्रमा उल्लेख छ। राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने, इमेलमार्फत आवश्यक पत्राचार गर्ने, अभिलेख प्राप्त गरी प्रिन्ट गर्ने लगायतका सेवा पनि निःशुल्क उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

सम्बन्धित कार्यालयको सेवा प्रकृति र आवश्यकताअनुसार नागरिक सहायता कक्षबाट निःशुल्क सहयोग उपलब्ध हुने व्यवस्था मिलाउनसमेत भनिएको छ।

मन्त्रालयले सेवाग्राहीलाई आवश्यक सूचना, सेवा प्राप्त गर्ने प्रक्रिया तथा कार्यविधिबारे नियमित जानकारी गराउन पनि निर्देशन दिएको छ। त्यसका लागि कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त सञ्चार माध्यमको प्रयोग गर्न र वेबसाइटलाई नियमित रूपमा अद्यावधिक राख्न भनिएको छ।

गृह मन्त्रालयको यो निर्देशनले सरकारी सेवा प्रवाहमा विचौलियाको भूमिका घटाउँदै नागरिकलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्य लिएको देखिन्छ।

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

0

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

0

विराटनगर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिनुभएको हो ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवाप्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड दिँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विश्वविद्यालयको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।

मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या र आवश्यकताबारे मन्त्रालयको तहबाट सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी विश्वविद्यालयले अघि सारेका प्राथमिकताका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा क्रमशः अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सुधारका कार्यलाई तीव्रता दिइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई समस्या समाधानका लागि परिवर्तनकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा भएका केही कार्य सराहनीय भए पनि आगामी दिनमा विश्वविद्यालयका काम स्पष्ट र मापनयोग्य प्रतिफल देखिनेगरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका पदाधिकारीले सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा विश्वविद्यालयका आगामी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।

अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा विश्वविद्यालयका विकास योजनालाई गति दिने विषयमा छलफल भएको थियो ।

त्यस क्रममा विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो । विश्वविद्यालयले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि सारेको जानकारी गराइएको थियो ।

अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउने, प्रशासनिक प्रक्रियालाई सरल बनाउने तथा विश्वविद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गर्नुभएको थियो । सो क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत विषयमा समस्या तथा सुझाव प्राप्त भएका थिए ।

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

0

वीरगंज । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरुको मत छ ।

हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

ऋषि पञ्चमीको पृष्ठभूमि

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो ।
यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताउनुभयो ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्ऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

0

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नौ उपसचिव र ५२ अधिकृतको सरुवामा पर्सा र बाराका प्रमुख प्रशासकीय अधिकृतहरू पनि परेका हुन् ।

सरुवा सूचिअनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवको धोबिनी गाउँपालिकामा सरुवा भएको छ । सखुवा प्रसौनी गाउँपालिकामा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई पठाइएको छ । चक्रघट्टा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई पठाइएको छ ।

त्यसैगरी धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाको जिराभवानी गाउँपालिकामा सरुवा भएको छ । जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।

पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ ।

पर्साकै जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको छ । विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहको सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा भएको छ भने उनको स्थानमा सर्वजित कुमार झालाई पठाइएको छ ।

यस्तै, पर्साको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनको स्थानमा जिल्ला समन्वय समिति पर्सामा कार्यरत सुमित कुमार सिंहलाई पठाइएको छ ।

बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको फेटा गाउँपालिकामा सरुवा भएको छ । फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सिरहाको नवराजपुर गाउँपालिकामा सरुवा भएको छ ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाराकै देवताल गाउँपालिकामा कार्यरत कृष्णनन्दन रायलाई पठाइएको छ । देवताल गाउँपालिकामा भने रौतहटको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई सरुवा गरिएको छ ।

यसैगरी बाराको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवन कुमार केशरीलाई पठाइएको छ ।

यसैगरी बारा कै करैयामाई गाउँपालिकाकाे प्रमुख प्रशासकीइ अधिकृत नागेन्द्र यादवकाे पनि सरुवा भएकाे छ । यादवकाे भुमि व्यवस्था तथा अभिलेख विभाग काठमाडाैंमा सरुवमा भएकाे छ भने करैयामाईकाे प्रमुख प्रशासकीय अधिकृतमा रमेश अधिकारीलाई पठाइएकाे छ ।