Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 163

पर्सा ४ काे छिपहरमाईमा कांग्रेसको चुनावी गतिविधि तीव्र, उम्मेदवार रमेश रिजाल सक्रिय

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले छिपहरमाई गाउँपालिका वडा नम्बर–२ मा मंगलबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्।

पूर्वमन्त्री एवं निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यसपटकको निर्वाचनमा आफुलाई अन्तिम पटक सहयाेग गर्न आग्रह गरे । देश अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै उनले संकटका बेला कांग्रेसले नै सधैं निकास दिएको इतिहास रहेको स्मरण गराए।

उनले लोकतन्त्रको रक्षा, स्थायित्व र विकासका लागि नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताउँदै मतदातालाई सचेत निर्णय लिन आग्रह गरे । स्थानीय विकास, सेवा प्रवाह र जनताका समस्या समाधानमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, प्रदेश क्षेत्रीय सभापति दिपेन्द्र सिंहलगायत छिपहरमाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए भने उम्मेदवार रिजालले तिनलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

पर्साका चारै क्षेत्रमा एमालेको जित सुनिश्चित छ : उम्मेदवार रुपेश पाण्डे

0

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डेले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित हुने दाबी गरेका छन् । मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकजुट भएर लागेमा चारै क्षेत्रमा सहज रूपमा विजय हासिल गर्न सकिने बताए।

उम्मेदवार पाण्डेले वर्तमान अवस्थामा चारैतर्फबाट एमालेमाथि आक्रमण भइरहेको उल्लेख गर्दै पार्टीभित्रका सबै कमजोरी, असमझदारी र मनमुटावलाई त्यागेर एकताबद्ध रूपमा अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले फागुन २१ गते हुने निर्वाचनमा जिल्लाभरका नेता–कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

उनले विगतमा विभिन्न कारणले पार्टीबाट निष्क्रिय भएका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन र सक्रिय भूमिकामा आउन पनि आग्रह गरे । एमाले बलियो बनाउन सबैको योगदान आवश्यक रहेको उनको भनाइ थियो ।

नेकपा एमाले पर्साका अध्यक्ष विश्वभर शर्माको अध्यक्षता तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर–४ का उम्मेदवार जालिम मियाँलगायत जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बहुदरमाई नगरपालिका प्रमुख सिंगासन साह नेकपा एमालेमा प्रवेश

0

वीरगंज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष तथा बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवका निकट मानिने तेली मंगलबार मात्र एमाले प्रवेश गरेका हुन्। यसअघि जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह पनि एमाले प्रवेश गरिसकेका थिए। यद्यपि, उनलाई पनि मंगलबारकै कार्यक्रममा उपाध्यक्ष बादलले पार्टीमा स्वागत गरेका थिए।

पूर्वमन्त्री एवं पर्सा १ का निर्वतमान सांसद प्रदीप यादव माघ ५ गते एमाले प्रवेश गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसमेत उपस्थित रहेका थिए । सोही राजनीतिक घटनाक्रमको निरन्तरताका रूपमा सिंगासन साह तेलीको एमाले प्रवेशलाई हेरिएको छ।

स्रोतका अनुसार बहुदरमाई नगरपालिकाका प्रमुख तेलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखको टिकट पाउने आश्वासनपछि मात्र पार्टी प्रवेश गरेका हुन्। उनको प्रवेशसँगै पर्सा क्षेत्र नम्बर–२ मा पनि एमाले थप बलियो बनेको बताइएको छ । पर्सा क्षेत्र नम्बर–२ बाट एमालेकी उम्मेदवार रिमा कुमारी यादव रहेकी छन्।

पूर्वमन्त्री प्रदीप यादवले यसअघि जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गर्दा सिंगासन साह तेली र राजेशमान सिंह उनीसँगै थिए । पछिल्लो समय मधेशवादी राजनीतिबाट अलग हुँदै उनीहरू एमालेमा समाहित भएका हुन्, जसको उद्देश्य आगामी निर्वाचनमा जसरी पनि विजय सुनिश्चित गर्नु रहेको नेताहरूको भनाइ छ।

पर्सा १ काे पिपरामा रास्वपाकाे निर्वाचन परिचालन कमिटी गठन, जेन्जी युवाहरु प्रवेश

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पिपरामा निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावी गतिविधिलाई तीव्र बनाएको छ। पिपरामा आज आयोजना गरिएको पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तकाे घरदैलो कार्यक्रमअघि कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।

निर्वाचन परिचालन कमिटी गठनसँगै पिपरामा रास्वपाको संगठन थप सुदृढ बनेको पार्टीले जनाएको छ । स्थानीय स्तरमा बढ्दो जनसमर्थनले रास्वपा पिपरामा बलियो बन्दै गएको देखिएको छ।

यसैबीच, वीरगंज महानगरपालिका–२३ सबैठ्वामा रोशन यादव र रवि यादवको नेतृत्वमा सयौं जेन्जी युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले भाद्र २३ र २४ को जेन्जी विद्रोहकै कारण मुलुक परिवर्तनको संघारमा पुगेको बताउँदै अब परिवर्तनको नेतृत्व रास्वपाले गर्ने दाबी गरे।

पन्तले जेन्जी युवाहरुको निरन्तर पार्टी प्रवेशले पर्सा जिल्लामा रास्वपाको जित सुनिश्चित हुँदै गएको पर्सा १ उम्मेदवार समेत रहेका रास्वपा जिल्ला सभापति पन्तले वताए ।

कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्य लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्रिकेटको ‘हब’ बनाउने तयारी, पिएम कपका लागि नारायणी मैदानमा तीव्र मर्मत

0

वीरगंज । वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगंज महानगरपालिकाले तीव्रता दिएको छ । प्रतियोगिताका लागि तोकिएको नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न हाल रातदिन नभनी मर्मत तथा सुधारको काम भइरहेको छ ।

तयारीको पछिल्लो अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिनु भएको छ । शनिबार राति करिब १० बजे मैदान पुग्नुभएका मेयर सिंहले निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै सम्बन्धित टोलीलाई काममा अझ तीव्रता दिन निर्देशन दिनुभयो । निरीक्षणका क्रममा उहाँले खेलकुदको माध्यमबाट वीरगंजको पहिचान र गरिमा अझ उच्च बनाउनुपर्ने बताउँदै तयारीमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरका अनुसार नारायणी क्रिकेट मैदानको मुख्य पिच यसअघि नै तयार भइसकेको छ । तर खेलाडीहरूको अभ्यास (प्राक्टिस) का लागि थप पिच आवश्यक देखिएपछि मुख्य पिचको पश्चिमतर्फ रहेको खाली स्थानमा माटो भरेर नयाँ पिच निर्माणको काम सुरु गरिएको छ । रातको समयमा समेत पिच निर्माण र मैदान सम्याउने कार्य निरन्तर रूपमा अघि बढिरहेको छ ।

प्रतियोगिता नजिकिँदै जाँदा आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारीलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ । तराईको चिसो मौसमका बाबजुद पनि राति १०–११ बजेसम्म मेयर स्वयं मैदानमा उपस्थित भई अनुगमन गर्दा निर्माण टोली तथा स्थानीय खेलप्रेमीहरूमा उत्साह थपिएको देखिएको छ ।

पिएम कप क्रिकेट प्रतियोगिताको यस आयोजनाले वीरगंजलाई पुनः राष्ट्रिय क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

माउन्ट मकालु माविको तीनदिने खेलकुद प्रतियोगिता सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १० मा अवस्थित माउन्ट मकालु माध्यमिक विद्यालयको तीनदिने आन्तरिक खेलकुद प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम तथा तेस्रो दिन एलकेजी र नर्सरी कक्षाका विद्यार्थीहरूबीच विभिन्न खेलकुद गतिविधि आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले जानकारी दिए ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तव, उप–प्रधानाध्यापिका रेखा जैसी तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक श्रीवास्तवले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्ने बताए । उनले खेलकुद शारीरिक मात्र नभई मानसिक विकासका लागि पनि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

विद्यालय प्रशासनका अनुसार यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिकाइसँगै व्यवहारिक जीवनका लागि तयार पार्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रेस सेन्टर र समाजवादी प्रेस संगठनद्वारा नेकपा उम्मेदवारसँग अन्तरक्रिया

0

वीरगंज । प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका चारै क्षेत्रका उम्मेदवार र दुवै प्रेस संगठनबीच भएको अन्तरक्रियामा आगामी निर्वाचनमा उम्मेदवारहरूको प्रचार–प्रसारमा सघाउने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ । सोही निर्णयअनुसार प्रचार–प्रसारको सहजीकरणका लागि चारवटै निर्वाचन क्षेत्रमा एक–एक जना संयोजकको जिम्मेवारी तोकिएको छ ।

दुबै संगठनकाे संयुक्त बैठकले पर्सा क्षेत्र नं. १ मा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, क्षेत्र नं. २ मा समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, क्षेत्र नं. ३ मा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव र क्षेत्र नं. ४ मा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनलाई जिम्मेवारी दिएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी चारवटै क्षेत्रका नेकपा उम्मेदवारहरूले अन्य दलका उम्मेदवारहरूले पैसाको खोलो बगाएर प्रचार–प्रसार गरिरहे पनि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूको व्यक्तिगत पृष्ठभूमि, इमान्दार छवि र पार्टीले अघि सारेको राष्ट्रिय एजेन्डाका कारण मतदाता आफूहरूप्रति विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा पर्सा क्षेत्र नं. १ का उम्मेदवार अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादव र क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुको उपस्थिति रहेको थियो । साथै नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्ता, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, प्रेस सेन्टर नेपाल तथा समाजवादी प्रेस संगठन पर्साका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वीरगंजको लिंकरोडस्थित होटल कुमु प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले गरेका थिए ।

पर्सा–४ मा जनमत आफ्नो पक्षमा रहेकाेले जित सुनिश्चित छ : नेकपा उम्मेदवार थारु

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुले कम्युनिष्ट आन्दोलनबाटै राजनीतिक यात्रा सुरु गर्दै गाविस अध्यक्षदेखि संविधानसभा सदस्यसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै आफूलाई क्षेत्र नं. ४ का जनताले विकासप्रेमी नेताका रूपमा चिनेको दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा सम्पन्न परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार थारुले आफ्नो कार्यकालमा सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गरी नागरिकताका लागि सधैं सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको स्मरण गराए । साथै, विकास निर्माणका कामहरू विवादरहित रूपमा सम्पन्न गर्न सफल भएकै कारण मतदाताहरूको विश्वास आफूले पाएको उनको भनाइ थियो ।

उनले नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा स्थापित नेतृत्व भएको पार्टी रहेको उल्लेख गर्दै सो पार्टीको उम्मेदवारका रूपमा जनमत आफूप्रति आकर्षित हुँदै गएको दाबी गरे । प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले निर्वाह गरेको भूमिकाले आफ्नो मनोबल अझै बढाएको समेत उनले बताए ।

आफ्नो जित सुनिश्चित रहेको विश्वास व्यक्त गर्दै थारुले पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार, पार्टीपंक्ति तथा शुभेच्छुकहरूलाई अझ बढी मतान्तरले विजयी गराउन व्यापक र प्रभावकारी अभियानमा जुट्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वीरगंज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी क्वाटरफाइनलमा प्रवेश

0

वीरगंज । वीरगंजमा जारी प्याब्सन पर्सा आबद्ध विद्यालयस्तरीय प्याब्सन नेपाल मेडिसिटी टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत भएका आजका तीन खेलबाट वीरगंज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेलमा साउथ जोन र बीरगन्ज एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको बीरगन्ज एकेडेमीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनायो। जवाफमा साउथ जोनले पूरा ओभर खेले पनि ७ विकेटको क्षतिमा १०६ रनमा सीमित भएपछि बीरगन्ज एकेडेमी १ रनको रोमाञ्चक जित निकाल्न सफल भयो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका बीरगन्ज एकेडेमीका अरबाज अन्सारी म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा गोल्डेन फ्युचर र बिकन माविबीच खेल सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ गरेको बिकन माविले १४।५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा गोल्डेन फ्युचरले ३ विकेट मात्र गुमाउँदै ११।१ ओभरमै लक्ष्य पूरा गर्दै ७ विकेटको सहज जित हासिल गर्‍यो। गोल्डेन फ्युचरका निरन्जन यादव म्यान अफ द म्याच बने।

त्यसैगरी अन्तिम खेलमा डिएभी र ज्ञान ज्योति मावि आमनेसामने भए। टस जितेर बलिङ रोजेको डिएभीले ज्ञान ज्योति माविलाई निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ७९ रनमा रोक्न सफल भयो। जवाफमा डिएभीले १३।४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटको जित हात पार्‍यो।

यी नतिजासँगै बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन्।

पर्सा ४ मा कांग्रेस ठोरी गाउँपालिका सभापति रास्वपा प्रबेश

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ठोरी गाउँपालिकामा नेपाली काँग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ । काँग्रेसका ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

सोमबार ठोरी गाउँपालिका वडा नं. ४ स्थित विजय बस्तीमा आयोजित रास्वपाको पार्टी प्रबेश कार्यक्रममा श्रेष्ठसहित विभिन्न दल परित्याग गरी करिब ३५० जना नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेकाे रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले जानकारी दिए ।

कार्यक्रममा रास्वपाका पर्सा क्षेत्र नं. ४ का उम्मेदवार टेकबहादुर शाक्य, केन्द्रीय सदस्य डा. नन्दन यादव, क्षेत्रीय सभापति जितेन्द्र मिश्र तथा ठोरी गाउँपालिका सभापति माधव बस्नेतलगायतका नेताहरूको उपस्थिति रहेको थियो । नवप्रवेशीहरूलाई अबीर–टीका लगाएर पार्टीमा स्वागत गरिएको थियो ।

पार्टी प्रवेशपछि बोल्दै सन्तोष श्रेष्ठले नेपाली काँग्रेस पुरातन सोच र यथास्थितिमा अल्झिएको आरोप लगाए । उनले पर्सा क्षेत्र नं. ४ मा २०४८ सालदेखि एउटै व्यक्तिलाई निरन्तर उम्मेदवार बनाइँदै आएको उल्लेख गर्दै नयाँ नेतृत्व र नयाँ अनुहारको मागलाई पार्टीले बेवास्ता गरेको बताए । यसकै कारण स्थानीय कार्यकर्ता र समर्थकहरूमा गहिरो असन्तोष रहेको उनको भनाइ थियो ।

श्रेष्ठले देशमा अब वास्तविक परिवर्तन आवश्यक भइसकेको र त्यसको नेतृत्व नयाँ सोच र युवालाई अवसर दिने दलले मात्र गर्न सक्ने धारणा राखे । “रास्वपाले युवालाई विश्वास गरेको छ, नयाँ सोचलाई प्राथमिकता दिएको छ, त्यसैले म यो पार्टीमा आएको हुँ,” उनले भने ।

कार्यक्रममा सहभागी नवप्रवेशीहरूले ठोरी र पर्सा क्षेत्र नं. ४ मा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई स्थापित गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।