वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका वडा नं. १० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
बिहिबार राति करिब ११ः५० बजेको समयमा प्रहरी टोलीले क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका बस्ने ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन् । त्यसैगरी पर्सागढी नगरपालिका बस्ने २६ वर्षीय दिनेश साह पनि पक्राउ परेका छन् ।
त्यस्तै, बाराको कलैया उपमहानगरपालिका बस्ने ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिका बस्ने ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिका बस्ने २७ वर्षीय विनोद कुमार लो र काठमाडौंको शंखरापुर नगरपालिका बस्ने ४० वर्षीय राजेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका बस्ने ५४ वर्षीय तिलक प्रसाद भट्ट, पर्साको वीरगंज महानगरपालिका बस्ने ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिका बस्ने ४६ वर्षीय दीपक राज पराजुली रहेका छन् ।
प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सबै १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ ।








