वीरगंज । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले पहिलो पदक जितेको छ । शारीरिक सुगठनअन्तर्गत क्लासिक बडीबिल्डिङको मेन्स क्लासिकल ओपन विधामा मधेशका खेलाडी हरिनारायण साहले कांस्य पदक जित्दै प्रदेशको पदक खाता खोलेका हुन् ।
वीरगंजस्थित मसल बैंक क्लबमा प्रशिक्षण दिदै आएका साहले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका हुन् । निरन्तर मेहनत, लगनशीलता र अभ्यासको परिणामस्वरूप उनले राष्ट्रियस्तरमा यो सफलता प्राप्त गरेका हुन् ।
साहको यस उपलब्धिले मधेश प्रदेशसँगै वीरगंज र पर्सा जिल्लाको खेलकुद क्षेत्रमा उत्साह थपेको छ । राष्ट्रिय प्रतियोगितामा प्रदेशका लागि पहिलो पदक दिलाउन सफल साहको उपलब्धिप्रति खेलकुद क्षेत्रका सरोकारवालाले खुसी व्यक्त गरेका छन् ।
प्रतियोगिताका आगामी खेलमा पनि मधेश प्रदेशका खेलाडीले थप पदक जित्ने अपेक्षा गरिएको छ ।








