रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको आरोपमा प्रहरीले मृतकका श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मृतक कलावती देवीका माइती पक्षले उनका श्रीमान् दिलीप दास तत्मासहित घरपरिवारका सदस्यले कुटपिट गरी हत्या गरेको भन्दै उजुरी दिएका थिए।
माइती पक्षले मंसिर ९ गते राति करिब ९ः१० बजे कलावतीलाई कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। मृत्यु भएपछि शुक्रबार बिहान करिब ४ बजे बागमती नदी किनारमा लगेर शव जलाउन थालिएको माइती पक्षको दाबी छ।
माइती पक्षको जाहेरीका आधारमा प्रहरीले मृतकका श्रीमान्सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले घटनास्थलमा पुग्दा शवको छातीको केही भाग बाँकी रहेको अवस्थामा फेला पारेको थियो। प्रहरीले उक्त शव नियन्त्रणमा लिएर पोस्टमार्टम गराएपछि माइती पक्षलाई बुझाएको छ।
प्रहरी उपरीक्षक रिजालले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको र अनुसन्धानपछि घटनाको वास्तविकता सार्वजनिक हुने बताए।








