Date
बिहि, मंसिर १०, २०८३
Thu, November 26, 2026

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ ऐन लागू

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धनका लागि नयाँ कानुनी व्यवस्था लागू गरेको छ ।

महानगरपालिकाले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी ऐन, २०८३’ तथा त्यसको कार्यान्वयनका लागि नियमावली जारी गरेको हो । नयाँ व्यवस्थाले उद्योग दर्तादेखि नवीकरण, अनुगमन, खारेजी र प्रवर्द्धनसम्मका प्रक्रियालाई कानुनी दायरामा ल्याएको छ ।

वीरगंजलाई आर्थिक नगरीका रूपमा चिनाउँदै आएका नगर प्रमुख राजेशमान सिंहले ठूला उद्योग तथा कलकारखानासँगै ठूलो संख्यामा घरेलु र साना उद्योगसमेत सञ्चालनमा रहेकाले तिनलाई व्यवस्थित गर्न नयाँ ऐन आवश्यक भएको बताउनुभयो ।

उहाँले उद्योगलाई नियमन गर्ने नाममा असहज बनाउनु नभई उद्योगीलाई कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गरी व्यवसायलाई थप बलियो बनाउने उद्देश्यले ऐन ल्याइएको स्पष्ट पार्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको नयाँ व्यवस्थाअनुसार महानगरभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । आवश्यक कागजातसहित निवेदन परेको अवस्थामा प्रक्रिया पूरा भएको देखिए १५ दिनभित्र उद्योग दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि नै प्रचलित कानुनअनुसार दर्ता भई सञ्चालनमा रहेका उद्योगले समेत ऐन लागू भएको छ महिनाभित्र महानगरपालिकामा आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।

नयाँ ऐनले उद्योग प्रवर्द्धनका लागि विभिन्न कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ । सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योगलाई तोकिएको क्षेत्रमा स्थापना गरे पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिनेछ ।

त्यस्तै, महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत र व्यवसाय करमा तीन वर्षसम्म १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । घरेलु तथा साना उद्योगलाई पनि व्यवसाय करमा छुट दिने प्रावधान ऐनमा समेटिएको छ ।

सहकारी, लघु, घरेलु तथा साना उद्योगलाई निर्धारित मापदण्डका आधारमा बीउ पुँजी अनुदान उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ । उद्योग स्थापना गर्न जग्गा खरिदमा कठिनाइ भए महानगरले आवश्यक समन्वय र सहजीकरण गर्नेछ । राष्ट्रिय वा स्थानीय प्राथमिकताका उद्योगलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउने प्रक्रियामा समेत महानगरले सहजीकरण गर्न सक्नेछ ।

उद्योग प्रवर्द्धनका लागि महानगर प्रमुखको अध्यक्षतामा स्थानीय उद्योग प्रवर्द्धन समिति गठन गर्ने, एकद्वार सेवा केन्द्र स्थापना गर्ने तथा उद्योग विकास, प्रविधि विस्तार, लगानी संरक्षण र रुग्ण उद्योग पुनःस्थापनाका लागि विभिन्न कोष स्थापना गर्न सकिने व्यवस्था ऐनमा गरिएको छ ।

त्यसैगरी, सार्वजनिक–निजी साझेदारीमा औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लस्टर घोषणा गरी उद्योगलाई थप सुविधा उपलब्ध गराउन सकिने प्रावधानसमेत समेटिएको छ ।

ऐनले उद्योग सञ्चालनसँगै वातावरणीय मापदण्डको पालना र निर्धारित सर्त पूरा गर्नुपर्ने जिम्मेवारी पनि स्पष्ट पारेको छ । प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन आवश्यक पर्ने उद्योगले स्वीकृति लिएपछि मात्रै स्थापना तथा सञ्चालन गर्नुपर्नेछ । महानगरपालिकाले उद्योग दर्ताका सर्त तथा कानुनी प्रावधानको नियमित अनुगमन गर्नेछ ।

नगर प्रमुख सिंहले नयाँ कानुनी व्यवस्थाले उद्योगीलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उद्योगीलाई निरुत्साहित गर्ने नभई आवश्यक सुविधा, सहुलियत र सहजीकरणमार्फत स्थानीय उद्योगको विकास तथा विस्तार गर्नु महानगरको उद्देश्य रहेको उहाँको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

निजगढ विमानस्थल मधेसको विकासको केन्द्र बन्छ : मन्त्री पौडेल

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशको आर्थिक तथा पर्यटन विकासको ‘लाइफलाइन’ भन्दै यसको निर्माण अनिवार्य रहेको...

वीरगञ्जमा किसानबाट १० हजार क्विन्टल धान किन्ने तयारी

वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले...

समाचारको स्रोत खुलाउन बाध्य पार्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम...