काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम पनि जनताप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताएका छन्।
राजधानीमा बिहीबार पत्रकार तथा सम्पादकहरूसँग भएको भेटघाटमा अध्यक्ष ओलीले समाचारको स्रोत खुलाउन बाध्य पार्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरे। उनले सञ्चारमाध्यमको न्युजरूममा सरकार प्रवेश गर्ने अभ्यास पञ्चायतकालमा समेत नभएको भन्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
गत कात्तिक १३ गते समाचारको स्रोत खोज्ने उद्देश्यले प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको घटनालाई ओलीले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा उठाए। समाचारप्रति चित्त नबुझे त्यसको निरूपण गर्ने अधिकार प्रेस काउन्सिलमा हुँदाहुँदै सञ्चारमाध्यममा प्रहरी प्रवेश गराइएको भन्दै उनले आपत्ति जनाए।
उक्त घटनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न राजनीतिक दल, पत्रकारसम्बद्ध संघसंस्था तथा नागरिक समाजले सरकारको विरोध गरेका थिए।
ओलीले सञ्चारमाध्यमले पनि झुटा समाचार प्रकाशन गर्न नहुने, पीत पत्रकारिताबाट टाढा रहनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले प्रेस स्वतन्त्रता र पत्रकारिताको जिम्मेवारी दुवैलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।
लोकतन्त्र र संविधानको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे पनि टिप्पणी गरे।
उनले भ्रमणका क्रममा राष्ट्रहितलाई केन्द्रमा राखेर संवाद हुन नसकेको आरोप लगाउँदै सत्तालाई केन्द्रमा राखेर कुराकानी भएको बताए। राष्ट्रिय एजेन्डालाई प्राथमिकतामा राखेर उपयुक्त समयमा संवाद गर्नुपर्ने उनको भनाइ थियो।
ओलीले सबै विषयमा एकैपटक सहमति हुन नसके पनि सम्भव भएका काम अघि बढाउँदै बाँकी विषयमा सहमति खोजेर अगाडि बढ्न सकिने बताए।








