रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई खेतीपातीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्।
रौतहटको मौलापुर नगरपालिका–गम्हरियामा नवनिर्मित आधुनिक विद्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष साहले किसानका आधारभूत समस्या समाधान गर्न नसक्ने मन्त्रीले नैतिकताका आधारमा पद छाड्नुपर्ने बताएका हुन्।
‘कृषकलाई समयमा मलखाद उपलब्ध गराउन नसक्ने मन्त्री पदमा बसिरहनुको औचित्य के छ ? के किसानलाई मलखाद दिन पनि ३५ वर्ष कुर्नुपर्ने हो ?’ उनले प्रश्न गरे।
साहले कृषि क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
वर्तमान युग कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिको युग भएकाले कृषि क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ थियो। किसानलाई समयमै रासायनिक मल, उन्नत बीउ, सिँचाइ सुविधा, आधुनिक कृषि उपकरण र उत्पादनको उचित बजार उपलब्ध गराउन सके मात्रै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए।
कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन सरकारले किसानमुखी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै साहले खेतीपातीको समयमा आवश्यक सामग्री उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए।
यसैबीच, विद्यालय भवन उद्घाटनका क्रममा साहले शिक्षा र स्वास्थ्यलाई समाज तथा राष्ट्र विकासको प्रमुख आधारका रूपमा चित्रण गरे। गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र प्रविधिमा आधारित शिक्षण प्रणालीबाट मात्रै दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने उनको भनाइ थियो।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विज्ञान, प्रविधि, सीप र व्यावहारिक शिक्षासँग जोड्नुपर्ने उनले बताए।
मौलापुर नगरपालिकाले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण र सेवा विस्तारका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै साहले धन्यवादसमेत व्यक्त गरे। नगरपालिकाले कुल बजेटको ४० प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको जनाइएको छ।
नवनिर्मित विद्यालय भवन सञ्चालनमा आएपछि स्थानीय बालबालिकाले व्यवस्थित र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।








