वीरगंज । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बुधबार जनचेतनामूलक र्याली सम्पन्न भएको छ ।
दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्शनएड नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत गाउँपालिका वडा नं. ४ मा उक्त र्याली आयोजना गरिएको हो ।
लैङ्गिक हिंसाको अन्त्य, हिंसापीडितको संरक्षण, दण्डहीनताको अन्त्य तथा न्यायको सुनिश्चितताका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
र्यालीमा स्थानीय समुदाय, सरोकारवाला तथा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि ऐक्यबद्धता जनाउँदै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए ।
लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रतिबद्धता आवश्यक रहेको सन्देशसहित र्याली सम्पन्न भएको दिव्य विकास स्रोत केन्द्रले जनाएको छ ।








