वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् । सीमित आर्थिक स्रोत र किसान परिवारको पृष्ठभूमिबाट आएका उनीहरूले सरकारी सेवामा सफलता हासिल गर्दै परिवार र गाउँकै गौरव बढाएका हुन् ।
किसान परिवारमा जन्मेहुर्केका सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका हुन् ।
तीन दाजुबहिनीमध्ये दाजु सोनु कुमार सोनी लेखापाल पदमा कार्यरत छन् भने जेठी बहिनी संगिता सर्राफ सहलेखापालका रूपमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । पछिल्लो पटक कान्छी बहिनी रबिता कुमारी सोनीले पनि खरिदार पदमा नाम निकाल्न सफल भएपछि परिवारका तीनै जना दाजुबहिनी निजामती सेवामा जोडिएका छन् ।
सोनु कुमार सोनी हाल पर्साको धोबिनी गाउँपालिकामा लेखापालका रूपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका तीनै दाजुबहिनीले मेहनत, लगनशीलता र निरन्तर प्रयासबाट सरकारी सेवामा आफ्नो स्थान बनाउन सफल भएका हुन् ।
एउटै परिवारका तीन सन्तान निजामती सेवामा प्रवेश गर्न सफल हुनुले उनीहरूको परिवारमा खुसी छाएको छ भने गाउँमा समेत सकारात्मक सन्देश दिएको छ । उनीहरूको सफलताले ग्रामीण क्षेत्रका युवायुवतीलाई पनि अध्ययन, परिश्रम र लक्ष्यप्रति प्रतिबद्ध रहे सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ ।








