बारा । बाराको सुवर्ण गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएका छन् ।
सुवर्ण गाउँपालिका–३ स्थित सन्तगन्ज पुलनजिकै शनिबार साँझ सडकछेउबाट पैदल हिँडिरहेका युवकलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत वडा नम्बर ६ निवासी चन्द्रिका ठाकुरका करिब २५ वर्षीय छोरा विक्रम शर्मा रहेका छन् ।
दुर्घटनापछि घाइते शर्मालाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुवा चन्द्रिका ठाकुरले जानकारी दिए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
चन्द्रिका ठाकुरका अनुसार सन्तगन्ज नाका तथा गाउँ नजिकै रहेकाले विक्रम पैदल घुम्न निस्किएका बेला दुर्घटनामा परेका थिए । प्रहरी ड्युटीमा रहेको स्थानबाट करिब १० मिटरको दूरीमा दुर्घटना भएको दाबी गर्दै उनले मोटरसाइकल र चालकलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले अझै नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ । ठक्कर दिने मोटरसाइकलको पहिचानसमेत हुन नसकेको उनले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।








