वीरगंज । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका थिए ।
त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी गराइएको छ ।








