भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।
शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै नेपालले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको प्रमुख उद्देश्य रहेको बताए।
कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा असर पर्ने गतिविधि गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने उनको भनाइ थियो। जनतामा देशभक्तिको भावना जागृत गराउने, देशप्रेम बढाउने र नेपाली हुनुको गौरवबोध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।
नेपालले राष्ट्रियता र स्वाधीनताको विषयलाई राजनीतिक मुद्दामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै यसलाई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडेर हेर्नुपर्ने धारणा राखे। नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताए।
‘राष्ट्रिय जागरण अभियानको पहिलो उद्देश्य राष्ट्रियता, देशभक्ति, नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो। देशको स्वाभिमानमा आँच आउने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भने।
यसैगरी, नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा वामपन्थी तथा कम्युनिष्ट आन्दोलन पुनः सक्रिय हुन थालेको दाबी गरे। ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतीय निर्वाचनमा ६ करोड ५० लाख मत प्राप्त गरी विजय हासिल गरेको उदाहरण दिँदै उनले ल्याटिन अमेरिकाका विभिन्न मुलुकमा वामपन्थी शक्तिहरू अगाडि बढिरहेको बताए।
मेक्सिको, बुल्गेरिया, स्पेन, फ्रान्स, इटाली र अमेरिकालगायत मुलुकमा पनि कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढिरहेको उनको दाबी थियो। विश्व राजनीतिमा देखिएका परिवर्तनबाट नेपाली कम्युनिष्टहरूले प्रेरणा लिनुपर्ने उनले बताए।
नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका सामु विभिन्न चुनौती रहे पनि त्यसबाट निराश हुन नहुनेमा जोड दिए। कम्युनिष्ट आन्दोलनको रक्षा र विकाससँगै राष्ट्रियता, जनअधिकार तथा जनताका समस्या उठाउनु पार्टीको दायित्व भएको उनको भनाइ थियो।
‘ब्राजिलमा लुलाको विजयदेखि ल्याटिन अमेरिका, अफ्रिका, युरोप र अन्य देशमा देखिएका राजनीतिक परिवर्तनले नयाँ सन्देश दिएका छन्। यसबाट हामीले प्रेरणा लिनुपर्छ र निराश नभई अघि बढ्नुपर्छ,’ उनले भने।
समाजको परिवर्तन र रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै न्यायपूर्ण समाज निर्माणमा सक्रिय हुनुपर्नेमा पनि उनले जोड दिए।








