वीरगन्ज । वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन्। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्साको आयोजनामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, म्याग्नस फार्मा प्रा.लि. र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा शुक्रबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रसौनी बिर्ताको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमा नेशनल मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. फारुक जकी अन्सारी, नेत्ररोग विशेषज्ञ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मधु कुमार साह, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन खत्री, छाला रोग विशेषज्ञ डा. निलमणि प्रियदर्शी र दन्तरोग विशेषज्ञ डा. सलोनी झासहित विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

शिविरमा बालबालिका, महिला तथा स्थानीय सर्वसाधारणले विभिन्न स्वास्थ्य समस्याबारे विशेषज्ञ चिकित्सकसँग परामर्श तथा परीक्षण सेवा लिएका थिए।
सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसीको विशेष उपस्थितिमा आयोजित शिविरमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट, मधेस प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष पार्वती आचार्य भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, नेपाली सेनाका मेजर प्रभाकर सिलवाल, प्रहरी नायब उपरीक्षक राजु कार्कीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी वीरगन्ज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटालगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा समाजसेवीहरू सहभागी थिए।
स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा सर्वसाधारणलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।








