वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ कुहँडीमा एक समूहको गतिविधिका कारण दलित समुदायका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छठ पर्वको अन्तिम दिन गत सोमबार भएको सामान्य विवादपछि एक समूहले दलित समुदायका व्यक्तिहरूमाथि पटक–पटक आक्रमणको प्रयास गर्नुका साथै घर तोडफोड, खानेपानीको बोरिङको पाइप काट्ने र गालीगलौज गर्ने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार सामान्य झगडालाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि दलित समुदायका बासिन्दा असुरक्षित महसुस गरिरहेका छन् । विवादपछि उक्त समूहले दलित समुदायका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न किसिमका गतिविधि गर्दै आएको उनीहरूको आरोप छ ।
दलित समुदायको बस्ती तुलनात्मक रूपमा कम र अर्को समुदायको बस्ती बढी रहेको कुहँडीमा बहुसंख्यकको आडमा आफूहरूमाथि दबाब र दुर्व्यवहार भइरहेको स्थानीय शेर बहादुर पासवानले वताए । घरमा तोडफोड गर्ने, खानेपानीका लागि प्रयोग हुँदै आएको बोरिङको पाइप काटिदिने तथा सार्वजनिक रूपमा गालीगलौज गर्ने घटनाले दैनिक जनजीवन प्रभावित भएको उनले वताए ।
घटनाका कारण स्थानीय दलित परिवारहरू घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको रमेशर हजारले वताए । विवादका कारण गाउँमा सामाजिक सद्भावसमेत खल्बलिने जोखिम बढेको स्थानीयको चिन्ता छ ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा दलित समुदायका परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित प्रहरी प्रशासन माग समेत गरेका छन् । जातीय आधारमा हुने कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र हिंसा कानुनविपरीत हुने भएकाले घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ ।








