बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त स्थानमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले दिउँसो १ः२१ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङ घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनापछि प्रहरी चौकी अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो ।
ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ईभी र स्कुटरलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको प्रवक्ता घलेले जानकारी दिए ।








