वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बालविवाह रोकथामका लागि लागू गरिएको विवाहपूर्व उमेर प्रमाणीकरण तथा सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दिव्य विकास स्रोत केन्द्र (डीडीआरसी), पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा बालविवाह अन्त्यका लागि सिफारिस प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
गाउँपालिकाका सबै वडामा २०८२ सालदेखि लागू गरिएको यस प्रणालीअनुसार विवाह गर्न लागेका बालबालिकाको उमेर जन्मदर्ता तथा नागरिकता प्रमाणपत्रका आधारमा प्रमाणीकरण गरिन्छ। विवाहका लागि दुवै पक्षको उमेर २० वर्ष पूरा भएको पुष्टि भएपछि मात्र वडा कार्यालयबाट बालविवाह नभएको सिफारिस उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कार्यक्रममा उक्त प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, बालविवाहका सम्भावित घटना रोक्ने तथा समुदायमा बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
सहभागीहरूले बालविवाहलाई सामाजिक विकृतिका रूपमा उल्लेख गर्दै यसको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, अभिभावक तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले आ–आफ्नो क्षेत्रबाट बालविवाह रोकथामका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा प्रतिनिधि, नागरिक समाजका अगुवा र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
विवाहपूर्व उमेर प्रमाणीकरण तथा सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयनले गाउँपालिकामा बालविवाह रोकथाम गर्न सहयोग पुग्ने र बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सुरक्षित भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।








