वीरगन्ज । चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जका तीन जना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ ।
चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिखमा सम्पन्न हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र कांस्य पदक जितेका खेलाडीलाई बिहीबार महानगरपालिकाले सम्मान गरेको हो ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जबाट सहभागी तीनै जनाले पदक जित्न सफल भएका थिए । वीरगन्जकी अवन्तिका झाले स्वर्ण पदक जित्दा सान्वी शर्मा र अवन्सिका गुप्ताले कांस्य पदक हात पारेका थिए । प्रतियोगितामा २४ देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षक दिपेश मानन्धरका अनुसार वीरगन्जबाट सहभागी तीनै जना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नगरको गौरव बढाएका छन् ।
खेलाडीहरूलाई सम्मान गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगन्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे ।
उनले खेलाडीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उनीहरूको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गरे ।
मेयर सिंहले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए । खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन आगामी दिनमा पनि महानगरले सहयोग गर्ने उनको भनाइ थियो ।








