वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेर अन्य राजनीतिक दलमा प्रवेश गरेका पर्साका दुई वडाध्यक्षसहित १८ जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।
आयोगको सूचनाअनुसार पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद रिक्त भएको छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा वडाध्यक्ष बरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए भने केही समयअघि वडाध्यक्ष पटेल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले उनीहरूले दल त्याग गरेको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।
आयोगका अनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको भन्दै जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयसहित जानकारी गराइएका जनप्रतिनिधिको पद रिक्त गरिएको हो।
निर्वाचन आयोगले २०८३ असोज २ गते निर्णय गर्दै सम्बन्धित जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको जनाएको छ ।









