Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

पर्सामा एक महिनामा ११८ अपराधका घटना, १२२ फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल कात्तिक महिनामा जिल्लाभर अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध कारोबार नियन्त्रण तथा अवैध गतिविधिविरुद्ध सञ्चालन गरेका कारबाहीको विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार एक महिनाको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएका छन् भने चालु मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कात्तिक महिनामा ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ८, चोरीसम्बन्धी ८, संगठित तथा सामाजिक अपराध २२, आर्थिक अपराध ४९, बालबालिकासम्बन्धी ४, सवारी ज्यानसम्बन्धी २ र अन्य प्रकृतिका १४ घटना दर्ता भएका हुन्।

यसैगरी अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका मुद्दामा ८५ जना पक्राउ परेका छन्। उनीहरूबाट २५ वर्ष १० महिना ३ दिन कैद तथा ३२ लाख ७ हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने प्रहरीको विवरणमा उल्लेख छ।

कात्तिक महिनामा कर्तव्य ज्यानसम्बन्धी एउटा, हातहतियारसम्बन्धी एउटा तथा आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरका १४, ठगीका दुई र मुद्रासम्बन्धी दुई गरी गम्भीर तथा आर्थिक अपराधका २० वटा घटना दर्ता भएका छन्।

लागूऔषध कारोबारमा १७ जना पक्राउ

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक महिनामा १४ वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरेको छ। यस क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको छ।

त्यसैगरी नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेत गराएको छ।

७० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

अवैध भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरीले ७० लाख ७० हजार ७९६ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

त्यस्तै अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ६ हजार २६३ लिटर तयारी मदिरा र ६ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गरिएको छ। यस क्रममा ११ जना पक्राउ परेका छन्।

प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुंगा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक फिट काठ बरामद गरिएको छ। यसबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीले जनाएको छ।

एक महिनामा ३७ सवारी दुर्घटना, दुई जनाको मृत्यु

कात्तिक महिनामा पर्सा जिल्लामा ३७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटनामा ६० वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्यांक छ।

दुर्घटनामध्ये चालकको कारण ११, सवारीसाधनको अवस्थाका कारण २१ र यात्रुको कारण पाँचवटा दुर्घटना भएको उल्लेख छ।

ट्राफिक नियम उल्लंघन गर्ने ९४१ वटा सवारीसाधनलाई कारबाही गरी १० लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। प्रहरीले दुर्घटनामा परेका ३० वटा सवारीसाधनको उद्धारसमेत गरेको छ।

घरेलु हिंसाका २७ उजुरी, सबैमा मिलापत्र

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी क्षेत्रमा कात्तिक महिनामा २७ वटा उजुरी दर्ता भएका थिए। प्रहरीका अनुसार सबै उजुरीमा मिलापत्र गराइएको छ।

यसैगरी प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा १९५ र जिल्ला प्रशासन कार्यालयमार्फत ३७ गरी कुल २३२ वटा ठाडो उजुरी प्राप्त भएका थिए। ती सबै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।

यस अवधिमा हराएका २६ जनामध्ये २१ जना फेला परेका छन्। हराउनेमा नौ महिला, दुई बालक र १५ बालिका रहेका थिए। फेला पर्नेमा सात महिला, एक बालक र १३ बालिका रहेका छन्।

अपराध नियन्त्रणका लागि डिजिटल निगरानी र विशेष गस्ती

प्रहरीले अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न सीसीटीभी, क्यूआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना संकलन र नियमित गस्तीलाई तीव्रता दिएको जनाएको छ।

त्यसैगरी मोबाइल क्विक रेस्पोन्स टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रातिको समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकिङ गर्ने व्यवस्था मिलाइएको छ। २४ घण्टा स्ट्यान्डबाइ टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा प्रोफाइल तयार गरिएको एसपी भट्टराईले जानकारी दिएका छन्।

प्रहरीले नागरिकमैत्री सेवा प्रवाह, प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा सुरक्षा व्यवस्थामा सुधारका लागि पनि विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।

कात्तिक महिनाको तथ्यांकले पर्सामा आर्थिक अपराध, लागूऔषध कारोबार, भन्सार छली तथा ट्राफिक व्यवस्थापन प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा रहेको देखाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गौरको नेपाल–भारत सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्। मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र...

नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, आफन्त आन्दोलित

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा...

वीरगञ्जका जलस्रोत तथा सिँचाइ विकास डिभिजनका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले अधिकृत छैठौं (प्राविधिक) गजेन्द्रप्रसाद...