वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
बाराको कलैया उपमहानगरपालिका–२२ मदिलवाका शिशुलाई जन्डिसको समस्या देखिएपछि गत कात्तिक २९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालको एनआईसीयूमा राखेर उपचार भइरहेको शिशुको स्वास्थ्यमा सुधार आएको भन्दै डिस्चार्ज गर्ने तयारी भइरहेका बेला घटना भएको आफन्तले बताएका छन्।
आफन्तका अनुसार एक नर्सले सुई लगाएपछि शिशुको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो। अवस्था बिग्रिँदै जाँदा पनि तत्काल चिकित्सक उपचारका लागि नआएको उनीहरूको आरोप छ। अस्पतालले दिउँसो २ बजेर १८ मिनेटमा शिशुको मृत्यु भएको जानकारी दिएको परिवारले जनाएको छ।
घटनाको वास्तविकता सार्वजनिक गर्न, अस्पतालको सीसीटीभी फुटेज उपलब्ध गराउन तथा निष्पक्ष छानबिन गर्न माग गर्दै आफन्तले छानबिन पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
यता, अस्पताल प्रशासनले भने उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरेको छ। अस्पतालका अनुसार शिशुमा पहिलेदेखि नै २१ प्वाइन्ट जन्डिस देखिएको थियो भने घरमै पाँच पटकसम्म चम्की आएको थियो। सोही कारण मस्तिष्कमा असर परेर शिशुको मृत्यु भएको अस्पतालको भनाइ छ।
यसैबीच, घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा अस्पताल प्रशासन र मृतक शिशुका आफन्तबीच वार्ता भइरहेको छ। वार्तामार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन्।








