वीरगञ्ज । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाएको तथा शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कार्तिक ३० गते बिहान करिब ११ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा असर पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वीरगञ्ज महानगरपालिका–१० का २७ वर्षीय पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र प्रसौनी गाउँपालिका–२ का २८ वर्षीय मंजुर हवारी रहेका छन् ।
प्रहरीले पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई कानुनबमोजिम म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सार्वजनिक स्थलमा अशान्ति मच्चाउने, ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।








