काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् । लगातार चार दिनसम्म चल्ने यस महान पर्वमा रास्वपा पँक्तिले दुई दिन सार्वजनिक बिदा दिएर महान काम गरेकोजस्तो गरेर प्रचार गरेको उल्लेख गर्दै अध्यक्ष साहले महान पर्व छठ र सिंगो संस्कृतिमाथिको अपमान भएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) साँझ सामाजिक संजाल मार्फत साहले रास्वपाको नेतृत्व पँक्तिलाई चार दिनसम्म मनाउने यस पर्वमा चारै दिन बिदा नदिएर दुई दिनमात्रै किन बिदा दिएको भनेर प्रश्न सोधेका छन् । उनले भने,“म रास्वपाको नेतृत्व तहमा भएका महानुभावहरुलाई प्रश्न गर्न चाहन्छु, यदि तपाईंहरु छठ पर्वलाई स्विकार गर्नुहुन्छ भने चार दिनको पर्वमा चारै दिन किन बिदा दिनुभएन ? किन दुई दिनमात्रै बिदा दिनुभयो ? यस्तो गर्न कुन नैतिकताले दियो ? चार दिनको पर्वमा दुई दिन बिदा दिएर अनि ठूलो ठूलो भाषण गर्ने ? तपाईंहरुले यो सम्मान गरेको हो कि अपमान ?”
उनले छठ पर्व राष्ट्रिय पर्वको रुपमा चिनिएको स्मरण गराउँदै रास्वपाको नेतृत्व पँक्तिले पूनः यस पर्वलाई क्षेत्रीय पर्वको रुपमा मात्रै सिमित गराउन खाजेको आरोप लगाए । महेन्द्रकालिन समयमा यस महान पर्वलाई २० जिल्लामा मात्रै मनाउने भनेको र ती जिल्लामा मात्रै बिदा दिने गरेको उल्लेख गर्दै अहिले रास्वपाले पनि महेन्द्रकालको झल्को दिनेगरि छठलाई वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गर्न खोजेकोले आफूहरुलाई यो कदम स्विकार्य नहुने साहले चेतावनी दिए ।
सूर्य उपासनासँग जोडिएको महान पर्व छठलाई विश्वव्यापी फैलाउनको लागि र युनेस्को इनटान्जिवल कल्चरल हेरिटेजको रुपमा दर्ज गराउनको लागि भारतले वकालत गरिरहेको बेलामा बास्तवमै नेपालको मधेशको महान पर्वलाई भने अहिले शासनको आसनमा पुगेको रास्वपाले मधेशका केही ठाउँमा मात्रै सिमित गर्न खोजेको अध्यक्ष साहको आरोप छ ।
सर्लाहीमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरुको कारण सिंगो मधेश नै शोकमा डुबिरहेको दुःखद् घडीमा रास्वपाका नेताहरुले विमानस्थलदेखि शहरसम्म तामझाम सहित नाचगान गरेको भन्दै उनले त्यसको पनि आलोचना गरे ।








