वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज कार्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ।
सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो। पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने धार्मिक परम्परा छ।
छठ पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा पौराणिक मान्यताहरू प्रचलित छन्। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख पाइन्छ।
छठ पर्वमा सूर्यदेवलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा पूजा गर्ने गरिन्छ। यस पर्वमा व्रतालुहरूले सन्तानको सुख, परिवारको कल्याण, आरोग्यता तथा सुख–समृद्धिको कामना गर्दै कठोर व्रत बस्ने धार्मिक विश्वास रहेको छ। बाँसका ढाकी, सुपलीमा ठकुवा, भुसुवा, केरा, उखु, नरिवललगायतका प्रसाद तथा फलफूल राखेर सूर्यदेवलाई अर्पण गर्ने चलन छ।
छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बस्ने गर्छन्। भोलिपल्ट बिहान कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिपूर्वक सम्पन्न हुन्छ।
कुनै समय तराई–मधेशका सीमित क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। यसले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ।








