वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पटका, आतिसबाजी तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका अवसरमा आगलागी तथा मानवीय र भौतिक क्षति हुन नदिन पटका तथा आतिसबाजीको प्रयोग नगर्न र नगराउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा छठ पर्वको अवसरमा मिति २०८३ कात्तिक २८ र २९ गते छठ पूजा स्थल तथा घाट वरपर माछा, मासु लगायतका खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ ।
जिल्ला सुरक्षा समिति पर्साको कात्तिक २८ गते बसेको बैठकको निर्णयअनुसार प्रशासनले यस्तो अपिल जारी गरेको जनाएको छ ।
त्यस्तै, छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद् तथा दुर्घटनामा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।
पर्व अवधिभर शान्ति सुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिबीच आवश्यक समन्वय गरिने पनि अपिलमा उल्लेख छ ।
प्रशासनले छठ पर्वको धार्मिक मर्यादा, पवित्रता र सामाजिक सद्भाव कायम राख्दै पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लावासी, छठ पूजा व्यवस्थापन समिति, व्यवसायी तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेको छ ।








