वीरगंज । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ महापर्वमा सहभागी हुन वीरगंज आउने भएका छन्।
सभामुख अर्यालले आइतबार र सोमबार वीरगंजस्थित ऐतिहासिक घडिअर्वा पोखरीसहित विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।
यस क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
शुक्रबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सभामुख अर्याललाई छठ पूजामा सहभागी हुन वीरगंज आउन औपचारिक निमन्त्रणा पठाएको थियो।
सभामुख अर्याल गत वर्ष पनि छठ महापर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाटमा पुगेका थिए। त्यस अवसरमा उनले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुका साथै श्रद्धालु भक्तजन र स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए।
छठ पर्व धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्पराको प्रतीकका रूपमा मनाइँदै आएको छ। यस पर्वमा सहभागी हुन सभामुख अर्याल वीरगंज आउने कार्यक्रमले यहाँको छठ उत्सवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।








