वीरगंज । पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेशलाई चाडपर्व र राजनीतिक भ्रमणका बेला मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र अधिकारका सवालमा पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
महापर्व छठको अवसरमा मधेश राष्ट्रिय चर्चामा परेको र विभिन्न राजनीतिक दलका नेता तथा उनीहरूका परिवार मधेश आउने क्रम बढेकोप्रति खुसी व्यक्त गर्दै उनले मधेशको संस्कृति, परम्परा र लोकआस्थाप्रति राष्ट्रिय स्तरमा चासो बढ्नु सकारात्मक भएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै यादवले मधेश राष्ट्रिय चर्चामा आउने गरे पनि संघीयतालाई मजबुत बनाउने, मधेशलाई अधिकारसम्पन्न बनाउने तथा यहाँका जनतालाई समान अवसर र न्यायपूर्ण विकासको अनुभूति गराउने विषयमा नेतृत्वको प्राथमिकतामा मधेश नपर्नु विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन्।
उनले मधेशलाई केवल चाडपर्व र राजनीतिक भ्रमणका बेला मात्र सम्झिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। मधेशका जनताको वास्तविक समस्या, आवश्यकता र सम्भावनालाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
यादवले मधेशको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, सहज तथा सर्वसुलभ स्वास्थ्य सेवा, युवाका लागि रोजगारी, कृषि क्षेत्रको आधुनिकीकरण, खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
त्यसैगरी, मधेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकास गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको धारणा छ। उद्योग, व्यापार, पूर्वाधार विकास र संघीयताको प्रभावकारी कार्यान्वयनलाई समेत प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरेका छन्।
छठ पर्वको समावेशी मर्मलाई आत्मसात् गर्दै मुलुकका प्रत्येक क्षेत्रमा समावेशी र सन्तुलित विकास हुनुपर्ने कामना गर्दै यादवले महापर्व छठको अवसरमा नेपालको चौतर्फी विकासका लागि शुभकामनासमेत व्यक्त गरेका छन्।








