वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं रास्वपा पर्साका सभापति हरि पन्तको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित वडाध्यक्ष पदका आकांक्षी दिपेन्द्र साहको निवासमा आयोजित कार्यक्रममा महुवनका स्थानीय बासिन्दा तथा पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा रास्वपाको प्रचारप्रसार विभाग प्रमुख रामेश्वर साहलगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
भेटघाटका क्रममा पार्टीको वर्तमान अवस्था, संगठन विस्तार, स्थानीय तह निर्वाचनको तयारी तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गरिएको थियो। स्थानीय स्तरमा पार्टीको संगठनलाई थप व्यवस्थित बनाउने र जनताका चासो तथा समस्याबारे जानकारी लिने विषयमा समेत कुराकानी भएको थियो।
कार्यक्रममा सहभागीहरूबीच शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।








