कलैया । बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् ।
कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच भएको विवादमा घाइते भएका व्यक्तिहरू उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुगेका थिए । तर अस्पतालको इमर्जेन्सी वार्डमै दुवै पक्षबीच पुनः विवाद चर्किएपछि झडप भएको हो ।
उपचारका लागि अस्पताल पुगेका व्यक्तिहरूबीच अस्पतालभित्रै कुटाकुट भएपछि इमर्जेन्सी वार्डको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । बिरामीको उपचार गर्ने संवेदनशील स्थानमै झडप हुँदा अन्य बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीसमेत त्रसित बनेका छन् ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा समेत झडप हुनु सुरक्षा व्यवस्थाको कमजोरीका रूपमा हेरिएको छ । घटनाले अस्पतालभित्र बिरामी तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता देखाएको छ ।








