वीरगञ्ज । लोकआस्थाको महापर्व छठ नजिकिएसँगै वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीको छठघाटमा तयारी तीव्र पारिएको छ। यस वर्ष छठपूजालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न छठपूजा व्यवस्थापन समिति तथा घडीअर्वा स्पोर्ट्स क्लब सक्रिय रूपमा जुटेका छन्।
समितिका अनुसार विगत एक महिनादेखि भइरहेको तयारीको काम हालसम्म करिब ८० प्रतिशत सम्पन्न भएको छ। बाँकी काम पनि छठ पर्वअघि नै पूरा गर्ने लक्ष्य राखिएको छ।
छठघाटमा आउने श्रद्धालु भक्तजनको सुरक्षा र सहज व्यवस्थापनलाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल तथा विभिन्न क्लब र सामाजिक संघसंस्थासँग समन्वय भइरहेको समितिले जनाएको छ।
यस वर्ष पनि छठी माताको आराधनाका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। गत वर्ष पनि नेपाली सेनाले छठघाटमा सलामी अर्पण गरेको थियो।
समितिले यस वर्ष घडीअर्वा पोखरीमा २ देखि ३ लाखसम्म श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरेको छ। छठपूजा व्यवस्थापनका लागि करिब २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त रकम वीरगञ्जका व्यापारी, नागरिक समाज, चन्दादाता तथा विभिन्न सहयोगीबाट संकलन गरिने समितिले जनाएको छ। आर्थिक स्रोत जुटाउन २०० रुपैयाँको सहयोग चिठ्ठासमेत सञ्चालन गरिएको छ।
यसैबीच, छठपूजा व्यवस्थापन समिति र घडीअर्वा स्पोर्ट्स क्लबले प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत छठपूजामा सहभागी हुन निमन्त्रणा पठाएका छन्। यहाँका प्रतिनिधिसभा सदस्यको माध्यमबाट प्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको समितिका सदस्य प्रभाकर गुप्ताले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहको उपस्थितिले छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व थप बढ्ने विश्वास समितिले लिएको गुप्ताले बताए।
वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित घडीअर्वा पोखरीमा छठ पर्वलाई भव्य रूपमा सम्पन्न गर्न सरसफाइ, सुरक्षा, बत्ती, सजावटलगायतका व्यवस्थापनका कामलाई अन्तिम रूप दिइँदैछ।








