सेढवा । नेपाली कांग्रेस (देउवा पक्ष) ले पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका क्षेत्रीय, प्रदेश तथा पालिका तहको अधिवेशन सम्पन्न गरेको छ । जिराभवानी गाउँपालिका–३ स्थित बरात भवनमा आयोजित अधिवेशनले विभिन्न तहमा नयाँ नेतृत्व चयन गरेको हो ।
नेपाली कांग्रेसको मंसिर २१ देखि २३ गतेसम्म आयोजना हुने महाधिवेशनलाई लक्षित गरी अधिवेशन आयोजना गरिएको थियो ।
नेपाली कांग्रेस जिराभवानी गाउँपालिका सभापति रामबिहारी चौधरीको सभापतित्व तथा पार्टीका केन्द्रीय सदस्य पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय संयोजकमा रामबिहारी चौधरीलाई चयन गरेको छ ।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को संयोजकमा सुनिलकुमार जोशी र ‘ख’ को संयोजकमा इन्द्रभूषण उपाध्याय चयन भएका छन्।
यसैगरी पालिकातर्फ जिराभवानी गाउँपालिकाको संयोजकमा प्रमोद चौधरी, ठोरी गाउँपालिकामा फुर्वा लामा, जगरनाथपुर गाउँपालिकामा राजु चौधरी तथा धोबिनी गाउँपालिकामा उमेश कुशवाहा र पडिन्द्र पटेल चयन भएका छन् ।
अधिवेशनमार्फत क्षेत्रीय, प्रदेश तथा पालिका तहमा नेतृत्व चयन गर्दै पार्टीको आगामी महाधिवेशनका लागि संगठनात्मक तयारीलाई अघि बढाइएको आयोजकले जनाएको छ।








