वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा एक परिवारको लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आइतबार राति स्थानीय कमलेश साहको फुसको घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरसहित घरभित्र रहेका काठ तथा प्लास्टिकका फर्निचर, साइकल, टेन्टका सामान, खाद्यान्नलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
घरका सदस्यहरू लक्ष्मीपूजामा व्यस्त रहेका बेला अचानक आगलागी भएको थियो । आगलागीबाट अन्दाजी ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको पीडित साहले बताए ।
यसैबीच, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सोमबार बिहान घटनास्थल पुगेर आगलागी पीडित साहको परिवारसँग भेटघाट गरेका छन् ।
उनले आगलागी प्रभावित घरको निरीक्षण गर्दै पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।








