वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार कार्यालयले शुक्रबारदेखि जिल्लामा सिमकार्ड वितरण सेवा सञ्चालनमा ल्याएको हो ।
हुलाक सेवामार्फत सेवाग्राहीलाई घरदैलोमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालय पर्साका यसवन्त ठाकुरले जानकारी दिए ।
सेवा सुरु भएसँगै वीरगंज महानगरपालिका–१० रानीघाट निवासी किरण कुमारी चौहानलाई हुलाक सेवामार्फत नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ । हुलाक कार्यालयका कर्मचारीले उनको घरमै पुगेर सिमकार्ड हस्तान्तरण गरेका हुन् ।
नेपाल टेलिकमको अनलाइन फारम भरेपछि हुलाक सेवामार्फत सिमकार्ड घरमै पुर्याइदिने व्यवस्था गरिएकाे जिल्ला हुलाक कार्यालय पर्साले जनाएको छ ।
हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको हुलाक अधिकृत नमनाथ यादवले बताए ।
घरदैलोमै सेवा उपलब्ध गराउने यस व्यवस्थाले सेवाग्राहीलाई सिमकार्ड लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्ने र सरकारी सेवाप्रति नागरिकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ ।








