वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेश साह कानुलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको आरोप लागेको छ । घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर आपत्ति जनाउँदै वडाध्यक्षमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
प्रेस चौतारी नेपाल पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य तथा फेमस नेपाल सन्देश पत्रिकाका प्रकाशक शैलेश साह कानुमाथि भएको भनिएको दुर्व्यवहार र धम्कीको भर्त्सना गरेको हो ।
विज्ञप्तिअनुसार २०८३ कात्तिक १३ गते शुक्रबार पोखरिया नगरपालिकाको ११औँ नगरसभाको खुला मञ्चबाटै वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेशमाथि अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने धम्की दिएका थिए ।
पोखरिया नगरपालिका–४ सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापनसम्बन्धी विषयमा समाचार प्रकाशन गरेको भन्दै वडाध्यक्षले पत्रकारमाथि दुर्व्यवहार गरेको प्रेस चौतारीको आरोप छ ।
सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको व्यावसायिक धर्म र संवैधानिक अधिकार भएको उल्लेख गर्दै प्रेस चौतारीले समाचारप्रति असहमति भए खण्डन गर्ने, प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गर्ने र कानुनी उपचार खोज्ने वैधानिक बाटो हुँदाहुँदै पत्रकारलाई सार्वजनिक कार्यक्रममै धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत रहेको जनाएको छ ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, पत्रकार शैलेश साह कानुको सुरक्षाको प्रत्याभूति गर्न तथा दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
त्यसैगरी, प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सबै जनप्रतिनिधि तथा सरोकारवालालाई प्रेस चौतारीले आग्रह गरेको छ ।








