वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२ स्थित श्री वनशक्ति प्राथमिक विद्यालय, काठमाडौं टोलका प्रधानाध्यापक गोविन्द मिर्दाहामाथि विद्यालयकै कक्षाकोठाभित्र हातपात भएकाे छ। विद्यालयमा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेका बेला सखुवाप्रसौनी गाउँपालिका–२ का रञ्जित चौधरीले प्रधानाध्यापकमाथि हातपात गरेको स्थानीयबाट जानकारी प्राप्त भएको छ ।
घटनाबारे जानकारी पाएपछि विद्यालय पुगेका स्थानीय युवाहरूले चौधरीलाई नियन्त्रणमा लिएर कक्षाकोठामा राखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएपछि इलाका प्रहरी कार्यालय सेढवाको टोलीले उनलाई नियन्त्रणमा लिएर कार्यालय पुर्याएको स्थानीय युवा विकास चौधरीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मिर्दाहा र सोही विद्यालयमा कार्यरत बालविकास सहजकर्ता रबिता चौधरीबीच लामो समयदेखि आन्तरिक विवाद रहँदै आएको बताइएको छ । उक्त विवाद समाधानका लागि जिराभवानी गाउँपालिका–२ का वडाध्यक्ष महादेव महतो थारू, वडा सदस्य नन्दकिशोर साह, सहजकर्ता रबिताका श्रीमान् सतीश महतो र उनका भाइ रञ्जित चौधरी विद्यालय पुगेका थिए ।
विद्यालयमा विवाद समाधानका लागि छलफल भइरहेका बेला प्रधानाध्यापकमाथि हातपात भएको बताइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय सेढवामा लामो समयसम्म छलफल भएको थियो। छलफलका क्रममा रञ्जित चौधरीले माफी मागेपछि उनलाई प्रहरी नियन्त्रणबाट मुक्त गरिएको स्थानीय स्रोतले जनाएको छ ।
यसैबीच, विद्यालय व्यवस्थापन समितिले बालविकास सहजकर्ता रबिता चौधरीलाई विद्यालय प्रवेशमा रोक लगाउने तथा कामकाज गर्न नदिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमोहन साहले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।
विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात भएको भनिएको घटनाले विद्यालयको शैक्षिक वातावरण र शिक्षक तथा कर्मचारीबीचको विवाद समाधान प्रक्रियाबारे प्रश्न उठाएको छ ।








