वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।
जीवनमरणको अवस्थामा वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ल्याइएका आदित्यकाे जटिल शल्यक्रिया र सघन उपचारपछि हाल काठमाडाैंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । अस्पतालका अनुसार हाल भेन्टिलेटरबाट हटाइएको छ । उनी अहिले होसमा आएका छन् र मुखबाट खाना खान थालेका छन् ।
अस्पतालका अनुसार आदित्यलाई शनिबार बिहान करिब १०:३० बजे गोली लागेको थियो । त्यसको करिब एक घण्टापछि बिहान ११:३० बजे उनलाई नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइएको थियो ।
अस्पताल ल्याउँदा अत्यधिक रक्तस्रावका कारण उनको अवस्था अत्यन्तै नाजुक थियो । रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै नाडी कमजोर थियो । गोलीका कारण पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुगेको थियो भने आन्द्राका केही भाग पेटको घाउबाट बाहिर निस्किएका थिए ।
विशेषज्ञ टोलीद्वारा जटिल शल्यक्रिया
बालकको गम्भीर अवस्थालाई मध्यनजर गर्दै नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा विशेषज्ञ चिकित्सकीय टोलीले तत्काल शल्यक्रिया गरेको थियो । टोलीमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाह सहभागी थिए ।
शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको केही भाग हटाउने, आन्द्राका भागहरू पुनः जोड्ने, आन्द्रामा भएका प्वाल मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउने जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ। साथै, उनको दाहिने नितम्बको भागमा रहेको गोलीसमेत निकालिएको थियो।
शल्यक्रिया सफल भए पनि आदित्यको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उनको उपचार अघि बढाइएको थियो ।
तीन प्रकारका जीवनरक्षक औषधि र रगत चढाएर उपचार
अस्पतालको उपचार अभिलेखअनुसार शल्यक्रियापछि रातिको समयमा आदित्यको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो । रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि प्रयोग गर्नुका साथै भेन्टिलेटरको सहायता दिनुपरेको थियो ।
त्यसक्रममा उनलाई चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा (एफएफपी) समेत चढाइएको थियो । चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीले चौबीसै घण्टा निगरानीमा राखेर उपचारलाई निरन्तरता दिएको अस्पतालले जनाएको छ ।
नेशनल मेडिकल कलेजद्वारा सम्पूर्ण उपचार निःशुल्क
आदित्यको उपचारमा नेशनल मेडिकल कलेजले मानवीय संवेदनशीलता देखाउँदै अस्पतालमा रहँदासम्म प्रदान गरिएका सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रक्तसञ्चार, प्रयोगशाला परीक्षणलगायतका सेवाबापत परिवारसँग कुनै शुल्क नलिइएको अस्पतालको भनाइ छ ।
जीवनरक्षाका लागि आवश्यक उपचारमा आर्थिक अवस्थाका कारण अवरोध नहोस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले उपचार खर्च व्यहोरेको जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण
आदित्यको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने देखिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना र सम्बन्धित सरकारी निकायसँग समन्वय गरेको थियो ।
अस्पतालका अनुसार आफन्तको अनुरोधमा २०८३ कात्तिक १५ गते बिहान ११:३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच), महाराजगञ्ज, काठमाडौं लगिएको थियो ।
स्थानान्तरणअघि परिवारलाई बालकको स्वास्थ्य अवस्था, थप उपचारको आवश्यकता र यात्राका क्रममा हुन सक्ने जोखिमबारे चिकित्सकीय परामर्शसमेत दिइएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटरबाट हटाइए, स्वास्थ्यमा उत्साहजनक सुधार
नोभेम्बर २ सम्म प्राप्त पछिल्लो स्वास्थ्य जानकारीअनुसार आदित्यको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट हटाइएको, होसमा आएको र सहायताबिना सास फेर्न थालेको अस्पतालले जनाएको छ। उनी मुखबाट खाना खानसमेत थालेका छन् ।
हाल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको थप उपचार भइरहेको छ ।
नेशनल मेडिकल कलेजले आकस्मिक उपचार, जटिल शल्यक्रिया, सघन उपचार तथा काठमाडौं स्थानान्तरणका लागि गरिएको समन्वयले बालकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । अस्पताल परिवारले आदित्यको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।








