सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने क्रममा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको छ। झडपका क्रममा केही प्रहरी तथा वन समूहका हेरालुहरू सामान्य घाइते भएका छन्।
सशस्त्र प्रहरी बलको बीओपी जिराभवानी, प्रहरी चौकी महादेवपट्टी बलुवा, सबडिभिजन वन कार्यालय सेढवा र गादीमाई साझेदारी वन व्यवस्थापन समूहबाट खटिएको संयुक्त टोलीले मुकेश साहद्वारा सञ्चालित फर्निचर उद्योगबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो। सोही क्रममा दुवै पक्षबीच झडप भएको बताइएको छ।
गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहुरम राउत गदीका अनुसार झडपमा केही प्रहरी तथा वन समूहका हेरालुहरू सामान्य घाइते भएका छन्।
यता, उद्योग सञ्चालक मुकेश साहका भाइ जाटाशंकर साहले बरामद गरिएका काठ भैरहवा–बुटवलबाट खरिद गरेर ल्याइएको र त्यससम्बन्धी सम्पूर्ण कानुनी कागजात आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्। उनका अनुसार संयुक्त टोलीले आवश्यक कागजात माग गरी जाँच गर्नुको सट्टा सिधै काठ नियन्त्रणमा लिन खोजेपछि विवाद भएको हो।
बरामद गरिएका ८ थान झ्यालका काठसमेत आफ्नै घरको प्रयोजनका लागि तयार गरिएको उनको भनाइ छ।
यता, संयुक्त टोलीले उद्योगबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








