वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
दिव्य विकास स्रोत केन्द्र (डीडीआरसी), पर्सा र एक्शनएड नेपालको साझेदारीमा सञ्चालित युवा लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै वडामा अभियान सञ्चालन गरिएको हो । इलाका प्रहरी कार्यालयसँगको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी युवा, किशोरी, बालबालिका, महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
अभियानमार्फत मदिरा तथा लागुऔषध दुर्व्यसनका कारण परिवार र समाजमा उत्पन्न हुने झैझगडा, घरेलु कलह, हिंसा तथा विभिन्न सामाजिक विकृतिबारे समुदायका सदस्यहरूलाई सचेत गराइएको थियो ।
युवालाई दुर्व्यसनबाट टाढा राख्न अभिभावक, स्थानीय सरकार, नेपाल प्रहरी, महिला अधिकार मञ्च तथा समुदायका सदस्यबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको विषयमा पनि जोड दिइएको थियो ।
अभियानका क्रममा समुदायमा अवैध रूपमा मदिरा बिक्री–वितरण तथा सेवन गर्ने गतिविधिको निगरानी र नियन्त्रणका लागि स्थानीय सरकार, नेपाल प्रहरी, युवा, अभिभावक तथा महिला अधिकार मञ्चका सदस्यहरूले संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन् ।
त्यसैगरी, युवालाई दुर्व्यसनबाट जोगाउन नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उनीहरूलाई सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउने र नेतृत्व विकासका अवसर प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
कार्यक्रमबाट ३०० भन्दा बढी व्यक्तिलाई मदिरा तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउनुका साथै सामाजिक तथा सांस्कृतिक कुरीतिविरुद्ध युवाको नेतृत्वमा सामुदायिक अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, दुर्व्यसन न्यूनीकरणका लागि स्थानीय सरकार, प्रहरी, अभिभावक, युवा तथा महिला अधिकार मञ्चबीच समन्वय र सहकार्यको प्रतिबद्धता निर्माण भएको छ ।
यस अभियानले युवालाई दुर्व्यसनबाट जोगाउन, परिवार तथा समुदायमा शान्तिपूर्ण वातावरण निर्माण गर्न र सामाजिक विकृति न्यूनीकरणमा सामूहिक जिम्मेवारी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको दिव्य विकास स्रोत केन्द्र, पर्साले जनाएको छ ।
दुर्व्यसनमुक्त युवा, सुरक्षित परिवार र सभ्य समाज निर्माणका लागि युवा नेतृत्व तथा सामुदायिक सहकार्य अपरिहार्य रहेको आयोजकको भनाइ छ ।








