वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (People in Need), अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत कार्यक्रम सम्पन्न भएकाे हाे ।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक र विभिन्न संघसंस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाको तीनमहिने अवधिमा हासिल भएका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे समीक्षा तथा छलफल गरिएको थियो ।
कार्यक्रममा परियोजनामार्फत शिक्षकहरूको क्षमता अभिवृद्धि हुनुका साथै समावेशी शिक्षा, डिजिटल सुरक्षा तथा विद्यार्थीको कल्याणसम्बन्धी ज्ञान, सीप र व्यवहारमा सकारात्मक सुधार आएको जानकारी गराइएको थियो । शिक्षकहरू बालमैत्री, सुरक्षित तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न थप सचेत भएको र विद्यार्थीका विविध आवश्यकता पहिचान गरी उनीहरूको सक्रिय सहभागिता बढाउने अभ्यासमा सुधार आएको जनाइएको छ ।
परियोजनाअन्तर्गत तीनवटा विद्यालयले डिजिटल सुरक्षा तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कार्ययोजना निर्माण गरेका छन् । ती विद्यालयमा विद्यार्थीलाई डिजिटल प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जानकारी दिन नियमित कक्षा सञ्चालन भइरहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसले विद्यार्थीलाई अनलाइन जोखिम तथा सम्भावित साइबर दुर्व्यवहारबाट सुरक्षित रहन सहयोग पुगेको बताइएको छ ।
त्यसैगरी, तीनवटा विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ भने गुनासो सुनुवाइ समितिको पुनर्गठन गरी गुनासो सम्बोधन गर्ने संयन्त्र स्थापना गरिएको छ । विद्यालयमा राखिएका गुनासो पेटिकामार्फत पाँच जना बालिकाले आफ्ना गुनासा दर्ता गराएका थिए । ती गुनासा समयमै सम्बोधन भएपछि सम्बन्धित बालिकाहरू नियमित रूपमा विद्यालय आउन थालेको जानकारी कार्यक्रममा दिइएको थियो ।
समावेशी विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले तीनवटा विद्यालयका प्रतिनिधिलाई अनुशिक्षण प्रदान गरिएको थियो। अनुशिक्षणपछि सम्बन्धित विद्यालयहरूले समावेशी विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइरहेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठन नभएका कारण बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ समितिको गठन तथा प्रभावकारी सञ्चालनमा कठिनाइ भइरहेको विषय पनि उठाइएको थियो । यस्ता संयन्त्रको महत्त्व, भूमिका तथा जिम्मेवारीबारे शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारीलाई थप सचेत गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो ।
त्यस्तै, गुनासो सुनुवाइ संयन्त्रलाई नियमित र प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, अनुगमन तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए । विद्यालय सुधार योजनामा समावेशी शिक्षा, जलवायु न्याय तथा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका विषय पर्याप्त रूपमा समेट्नुपर्नेमा पनि जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले पहिचान गरिएका समस्या तथा चुनौती समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन तथा सबै बालबालिकाका लागि समान शैक्षिक अवसर सुनिश्चित गर्न स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच सहकार्यलाई निरन्तरता दिने बताएका थिए ।
कार्यक्रममा नेसनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) का केन्द्रीय उपाध्यक्ष राम प्रवेशले सहजीकरण गरेका थिए। अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह र दिव्य विकास स्रोत केन्द्रका अमित कुमार राउतले कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा सहयोग गरेका थिए ।
समावेशी शिक्षा प्रत्येक बालबालिकाको अधिकार भएकाले आर्थिक, सामाजिक, लैङ्गिक वा अन्य कुनै कारणले पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नहुनेमा कार्यक्रममा जोड दिइएको थियो। विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा समेट्दै सबैका लागि समान, समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु परियोजनाको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।








