वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रविण साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार साहले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयका एजेन्टसँग राम्रो चिनजान भएको भन्दै सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए । उनले भन्सारबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी सामान कम मूल्यमा उपलब्ध गराइदिने आश्वासन दिएर विभिन्न व्यक्तिलाई आफ्नो विश्वासमा पारेका थिए ।
लिलाम प्रक्रियामा सहभागी हुन तयार भएका व्यक्तिहरूलाई विभिन्न प्रलोभन देखाउँदै उनले विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीको विशेष टोलीले साहलाई असोज २२ गते वीरगंज महानगरपालिका–८, घण्टाघरबाट पक्राउ गरेको हो । उनीमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न प्रहरीले विशेष निगरानी बढाउनुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ ।
भन्सारबाट लिलाम हुने सामान सस्तोमा उपलब्ध गराइदिने भन्दै बिचौलियाहरूले रकम ठगी गर्न सक्ने भएकाले त्यस्ता व्यक्तिको प्रलोभनमा नपर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता व्यक्तिको सम्पर्कमा नबस्न र बिचौलियासम्बन्धी कुनै सूचना प्राप्त भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।








