वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत हासिल उपलब्धि, चुनौती र सिकाइको समीक्षा गर्दै समावेशी शिक्षालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।
दिव्य विकास स्रोत केन्द्र, पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथि थिए । कार्यक्रमको अध्यक्षता केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए ।
कार्यक्रममा परियोजनाको तीनमहिने कार्यान्वयन अवधिमा हासिल उपलब्धि, विद्यालयबाहिर रहेका बालबालिकाको पुनः भर्ना, बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन र परिचालन तथा विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको सुदृढीकरणबारे समीक्षा गरिएको थियो ।
परियोजनाअन्तर्गत गाउँपालिका स्तरमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरी परिचालन गरिएको छ । त्यसैगरी, तीनवटा विद्यालयमा समेत यस्ता सञ्जाल गठन गरी परिचालनको प्रक्रिया अघि बढाइएको छ । विद्यालयमा बालिकाको सहभागिता वृद्धि, समावेशी शिक्षाको प्रवर्द्धन तथा बालबालिकाका समस्या पहिचान र समाधानमा सञ्जालले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, विद्यालयमा गुनासो सुनुवाइ समितिको पुनर्गठन गरी सञ्चालनमा ल्याइएको छ । विद्यालयहरूलाई समावेशी विद्यालय सुधार योजना निर्माणमा सहजीकरण गर्नुका साथै स्थानीय तहमा सामुदायिक सिकाइ केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि तथा विधान निर्माण प्रक्रियामा समेत परियोजनाले सहयोग गरेको छ ।
कार्यक्रममा नेसनल क्याम्पेन फर एजुकेसन नेपालका केन्द्रीय उपाध्यक्ष राम प्रवेशले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । उनले समावेशी शिक्षाको आवश्यकता, विद्यालय तथा स्थानीय तहको भूमिका, बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय र परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने विषयमा प्रकाश पारेका थिए ।
१७२ बालबालिका अझै विद्यालयबाहिर
परियोजनाबाट ५८ जना बालबालिकालाई विद्यालयमा पुनः भर्ना गरिए पनि गाउँपालिकामा उमेर पुगेका १७२ जना बालबालिका अझै विद्यालयबाहिर रहेको विषय कार्यक्रममा उठाइएको थियो । यसले विद्यालयबाहिर रहेका सबै बालबालिकाको पहिचान गरी शिक्षाको पहुँचमा ल्याउन थप पहल आवश्यक रहेको देखाएको छ ।
छलफलका क्रममा केही विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घ गठन हुन नसकेको र बालिका तथा समावेशी शिक्षा सञ्जालको नियमित सञ्चालनका लागि गाउँपालिकाको बजेटमा छुट्टै रकम विनियोजन भएको नदेखिएको विषयसमेत उठाइएको थियो ।
विद्यालयमा बालमैत्री तथा अपाङ्गतामैत्री वातावरण निर्माण, संरचनागत र व्यवस्थापकीय समस्या समाधान तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच थप समन्वय आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए ।
कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष महतोले समावेशी शिक्षा प्रवर्द्धनका लागि पहिचान गरिएका समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घ गठन, विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने र शिक्षा सञ्जाललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा जोड दिए ।
उपलब्धिलाई दिगो बनाउन गाउँपालिका, विद्यालय, अभिभावक, समुदाय र दिव्य विकास स्रोत केन्द्रबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने निष्कर्षसमेत निकालिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका चारवटै वडाका वडाध्यक्ष, शिक्षा तथा महिला तथा बालबालिका शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बालिका तथा समावेशी शिक्षा सञ्जालका प्रतिनिधि र अन्य सरोकारवालासहित ४१ जनाको सहभागिता थियो ।
कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला कार्यक्रम अधिकृत अमरेश प्रसाद यादव, प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले समन्वय, सहजीकरण तथा व्यवस्थापनमा सहयोग गरेका थिए ।
पहुँच परियोजना युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालन हुँदै आएको छ ।








