वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार आइतबार सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका–५ नर्कुटवाका १८ वर्षीय शेख सहजातलाई शंका लागेर जाँच गर्दा कुरकुरेभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई सशस्त्र प्रहरीको डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराको बारागढी गाउँपालिका–३ का ४१ वर्षीय जमिल अख्तर मियाँलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बोकेको झोलामा लुकाएर लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
दुवै जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।








