वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि धर्ना दिएको छ ।
तीन दिनदेखि धर्नामा बसेको समूहले बैंकले आफूहरूको घरजग्गा फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
धर्नामा बसेकी सरस्वती सिंहले बैंकका कर्मचारी लक्ष्मण चालिसा, अमित जट्ट तथा अमित केशीसहित चार जनाको मिलेमतोमा आफूहरूको जग्गा कब्जा गरिएको आरोप लगाइन् । उनका अनुसार दुई करोड २५ लाख रुपैयाँ ऋण लिँदा धितो राखिएको वीरगंजस्थित आर्मी ब्यारेक पछाडि रहेको अढाई कठ्ठा जग्गा बैंकले कुनै जानकारी नदिई लिलाम गरेको हो ।
सिंहले उक्त जग्गा आफ्ना भाइ बुहारी साहेना खातुनको नाममा रहेको बताइन् । बुहारीको उपचारका लागि अस्पतालमा भर्ना गर्नुपरेकाले दुई किस्ताको रकम जम्मा गर्न नसकिएको उनको भनाइ छ । पछि किस्ताको रकम जम्मा गर्न आग्रह गर्दासमेत बैंकले जग्गा लिलाम गरेर अर्कै व्यक्तिको नाममा गरिदिएको उनले आरोप लगाइन् ।
यता, बैंकका शाखा प्रबन्धक अमित हर्लकाले ऋण चुक्ता नभएपछि आवश्यक प्रक्रिया पूरा गरेर धितोमा राखिएको जग्गा लिलाम गरिएको बताए । उनले बैंकको ऋणसम्बन्धी सबै विवरण सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्दै ऋणसँग प्रत्यक्ष सरोकार नभएका व्यक्तिहरूले बैंकअगाडि धर्ना दिएर बैंकलाई बदनाम गर्न खोजेको दाबी गरे ।
धर्नामा बसेका महिलाहरूले भने आफ्नो घरजग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।








