वीरगंज । वीरगंज महानगरपालिकासहित बारा र पर्साका छ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । ग्रामीण बस्तीलाई मुख्य सडकसँग जोड्दै सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले अन्तरपालिका यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले सेवा सञ्चालनका लागि आवश्यक समन्वय र अध्ययन प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।
वीरगंज महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा सम्बन्धित पालिकाका प्रतिनिधि सदस्य रहेका छन् । समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव लगायत सहभागी छन् ।
समितिले सार्वजनिक यातायातका सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालनको ढाँचा र आवश्यक स्रोतसाधनबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ । त्यस्तै, सवारी सञ्चालन खर्च, इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र खर्च बाँडफाँटको व्यवस्थाबारे समेत अध्ययन गरिनेछ ।
बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकासँग समन्वय गरी आगामी बैठकमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।
प्रस्तावित यातायात सेवा सञ्चालनमा आए मुख्य सडकबाट टाढा रहेका ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट सार्वजनिक यातायातको पहुँच विस्तार हुनुका साथै निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।
बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख सिंह, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह र परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीलगायत सहभागी थिए ।
त्यसैगरी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र सूचना अधिकृत किर्तिराज सुवेदीको पनि उपस्थिति थियो ।








